
खरीपाटी : चाँगुनारायण नगरपालिकामा दर्ता भएका डिजाईन एमएसएमईएस (लघु, साना तथा मध्यम उद्यमी) को लागि तीन दिने ऊर्जा प्रभावकारी भवन डिजाईन सम्बन्धी तालिम प्रदान गरिएको छ ।

चाँगुनारायण नगरपालिकाले बिल्डिङ् इनर्जी इफिसियन्सी इन नेपाल (बिन) सँगको सहकार्यमा सोमबारबाट शूरु भएको तालिम बुधबार सम्पन्न भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले सहभागिलाई प्रमाणपत्र प्रदान गर्दै सिकेको सीपलाई उपयोग गरि ऊर्जा प्रभावकारी भवन निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले नगरपालिकाले ऊर्जा प्रभावकारी भवन निर्माण सम्बन्धी कार्याविधि स्वीकृत गरि कार्यान्वयनको चरणमा रहेको पनि बताउनुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रशासन अधिकृत सुरज पौडेलले सहभागिलाई उत्साहका साथ आफ्नो सीप उपयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बिइइएका सिईयो उषा मास्केले पनि बोल्नु भएको थियो ।

कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।

सोही अवसरमा चाँगुनारायण नगरपालिकामा ऊर्जा प्रभावकारी भवन सम्बन्धी प्रदर्शनी समेत गरिएको थियो ।
















