
दुवाकोट: चाँगुनारायण नगरपालिकाले ९ वटै वडामा स्वच्छ हावा प्रबद्र्धन सम्बन्धी वडास्तरीय अभिमूखीकरण कार्यक्रम शूरु गरेको छ । बिहीबार वडा नंं ६ नगरकोटबाट शूरु गरिएको कार्यक्रम शुक्रबार वडा नंं २ मा आयोजना गरिएको छ ।

नगरपालिकाको खानेपानी, सरसफाई तथा स्वच्छता शाखा (वास) को आयोजना र स्वच्छ हावा सञ्जाल चाँगुनारायणको समन्वयमा अभिमूखीकरण कार्यक्रम शूरु गरिएको हो । यसअघि सरोकारवाला निकाय सम्मिलीत नगरस्तरीय अभिमूखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

कार्यक्रममा वडा न.२ का वडाध्यक्ष सोम प्रधानले स्वच्छ हावा कार्यक्रम अत्यन्तै आवश्यक रहेको बताउनुहुँदै यसलाई अभियानको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका वास शाखा संयोजक सुरेन्द्र लामिछानेले नगरमा वातावरण प्रदुषणले पारेको असर र गर्नुपर्ने कामका विषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा स्वच्छ हावा सञ्जाल चाँगुनारायण अध्यक्ष रविता कार्की, प्रशिक्षक सुजित श्रेष्ठ र वास सहजकर्ता राममाया रानामगर, दुवाकोट स्वास्थ्य शाखा प्रमुख कुमार केसीलगायतले बोल्नु भएको थियो ।








