नगरबासीको आर्थिक उत्थानमा सहकारीको योगदान अतुलनीय: जीवन खत्री

खरीपाटी: चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरबासीको आर्थिक उत्थानमा सहकारीको योगदान अतुलनीय रहेको बताउनु भएको छ । युवा बचत तथा ऋण सहकारी संस्थााको बिहीबार चाँगुनारायण नगरपालिका–७, खरिपाटीमा आयोजना गरिएको सहकारीको २६ औं साधारणसभालाई सम्बोधन गर्नुहुँदै नगरबासीको समृद्धि र आर्थिक उत्थानका लागि सहयोगीको भूमीका महत्वपूर्ण रहेको बताउनु भएको हो ।

मेयर खत्रीले युवा साकोसले बचत कर्ताको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको पनि बताउनुभयो । ‘युवा सहकारीले उत्कृष्ट वित्तीय सेवा दिएको छ । यसले गर्दा सदस्यहरुको आर्थिक समृद्धिका लागि निकै नै फाइदा पुगेको छ’, नगरप्रमुख खत्रीले भन्नुभयो । बचतकर्ताहरुले जम्मा गरेको रकमलाई विभिन्न शीर्षकमा ऋण परिचालन गरेर सहकारीले धेरै स्थानीयलाई आत्मनिर्भरताको बाटोमा डोहोर्र्याएको खत्रीले बताउनुभयो ।

सहकारीको मुख्य उद्धेश्य आफ्ना सदस्यहरुलाई आर्थिक रुपमा सबल र सक्षम बनाउनु नै रहने र युवा सहकारी उक्त उद्धेश्य प्राप्तीमा सफल रहेको नगरप्रमुख खत्रीले बताउनुभयो । ‘सहकारीको मुख्य उद्धेश्य समुदायको आर्थिक उत्थान हो, कानुनी परिधिमा रहेर आर्थिक समृद्धितर्फ अग्रसर गराउने उद्धेश्यलाई श्री युवा सहकारीले कार्यान्वयनमा ल्याएको छ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा सहकारीका अध्यक्ष प्रकाश बास्तोलाले सहकारीले स्थापनाकालदेखि नै समाजलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न योजना बनाएर अगाडि बढीरहेको बताउनुभयो । उहाँले सहकारीस्थापनाको २५ औं वर्षमा आइपुग्दा बागमती प्रदेशकै उत्कृष्ट समेत बन्न सफल भएको बताउनुभयो ।

साधारणसभामा सहकारीका सचिव जयराम बास्तोलाले गत आर्थिक वर्षमा सहकारीमा २२ पटक सञ्चालक समितिको वैठक र ३ पटक लेखा सुपरिवेक्षण समितिको बैठक बसेको, ऋण लगानी तथा असुली उप–समितिको १७ पटक, महिला उप–समितिको ३ जना, शिक्षा उप–समितिको ३ पटक र युवा तथा बालिबालिका उपसमितिको वैठक दुईपटक बसेको जानकारी गराउनुभयो ।

गत आर्थिक वर्षमा सहकारीले २ करोड ३४ लाख रुपैयाँ नाफा गरेको कोषध्यक्ष सुरेन्द्र मुनंकर्मीले जानकारी दिनुभयो । सहकारीले गत आर्थिक वर्षमा ऋण परिचालन मार्फत् १५ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ र बचतको ब्याजमा १२ करोड २८ लाख रुपैयाँ खर्च गरेको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्षको अन्तिम सम्ममा सहकारीको ऋण लगानी १ अर्ब १० करोड रुपैयाँ रहेको मुनंकर्मीले बताउनुभयो । उक्त समयसम्म पुग्दा सहकारीले १ अर्ब १५ करोड रुपैयाँको कारोवार गरेको उहाँले बताउनुभयो । सहकारीले चालू आर्थिक वर्षमा १९ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।