चाँगुनारायण नगरपालिका-९ द्धारा वडा रत्न पदकबाट १० जनालाई सम्मान

ताथली: चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीले वडा रत्न सम्मान प्रदान गरेको छ । वडा कार्यालयले पहिले पटक गरेको सम्मानबाट विभिन्न क्षेत्रमा योगदान पुर्याउने १० जनालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरूमा शिक्षातर्फका शिक्षासेवी कृष्णराम बासुकला, वन तथा वातावरण क्षेत्रकी सावित्री बस्नेत, सञ्चार क्षेत्रका हरिसुन्दर छुकां, स्वास्थ्य क्षेत्र अन्तरगत ताथली हेल्थपोष्टका इन्चार्ज हरिनारायण प्रसाद साह, कृषि क्षेत्रका रत्नबहादुर न्हेम्हाफुकी, पशुपालन क्षेत्रका कृष्ण न्हेम्हाफुकी, कला संस्कृति क्षेत्रका विजयराम बनमाला, पुष्पखेतीतर्फ रामेश्वर बासी, स्थानीय उत्कृष्ट कर्मचारीमा पुष्पराम लिवि र उपभोक्ता समितितर्फ रामप्रसाद न्हेम्हाफुकी रहनु भएको छ ।

वडा नंं ९ का वडाध्यक्ष गणेश त्यात तथा वडा सदस्यहरू कमला गिरी, सुमित्रा दर्जी, विद्यापति थापा र रबिन बासुकलाले सम्मान पत्र, दोसल्ला र मायाको चिनोका साथ सम्मान गर्नु भएको थियो ।

वडाध्यक्ष त्यातले विभिन्न क्षेत्रमा रहेर आफ्नो ठाउँको विकास र सम्मुनतिका लागि विशेष योगदान दिएका व्यक्तिहरूको कामको कदरस्वरूप सम्मान गरिएको बताउनुभयो ।

सम्मानितहरूमध्ये ताथली हेल्थपोष्टका इन्चार्ज हरिनारायण प्रसाद साह र चाँगुपत्र साप्ताहिकका सम्पादक हरिसुन्दर छुकांले वडाको सो कामले वडावासीमा नयाँ उर्जा प्राप्त हुने भन्दै आगामी दिनमा सो कार्यलाई निरन्तरता दिन सुझाव दिनु भएको थियो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीबाट सरूवा भएका वडा सचिव पुष्पराम लिविले वि. सं. २०५५ सालदेखि कार्यरत रहँदाका अनुभव सुनाउनु भएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकलाई भजन सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा वडा सदस्य रबिन बासुकला, वडा सचिव राधाकृष्ण गेलाल तथा चाँगुनारायण नगरपालिका वडा नं ९ बाट सरूवा भएका इन्जिनियरद्वय अन्जनकुमार दुलाल र रश्मि मचामसीले पनि आफ्नो अनुभव सुनाउनु भएको थियो ।