खरीपाटी । चाँगुनारायण नगरपालिकाको विपद् व्यवस्थापन इकाईको आयोजनामा आइसेट नेपाल रडिसिए नेपाल तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको सहयोगमा स्थानीय पाठ्यक्रम परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ ।
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले विद्यार्थीहरुको पाठ्यक्रममै विपद् व्यवस्थापन, स्वस्थ्य बुढ्यौली, सडक सुरक्षा, खानेपानी तथा सरसफाई, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, प्राथमिक उपचार लगायतका विषय बस्तु समेट्न सकेमा विद्यालय तहबाटै विद्यार्थीहरूले आवश्यक ज्ञान र शिप प्राप्त गर्न सक्ने बताउनु भयो ।
उहाँले नैतिक शिक्षाको महत्व रहेको अहिलेको समयमा स्थानीय पाठ्यक्रममा समसामयिक विषयबस्तुलाई समेट्नको लागि आवश्यकता अनुसार परिमार्जन आवश्यक रहेको कुरा औल्याउनुभयोे ।
नगर प्रमुख खत्रीले विपद् सम्बन्धि आम जनसमुदायको बुझाईमा कमी रहेकोले नगरपालिकाले आफ्नै पहल तथा विभिन्न संघसंस्थासंगको सहकार्य तथा समन्वयमा विद्यालय तथा सुमदायस्तरमै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यक्रम तथा गतिविधिहरु सञ्चालन गरिरहेको बताउनुुुहुँदै स्थानीय पाठ्यक्रमले विपद् व्यवस्थापन लगायतका विषयवस्तुहरु समेट्न सके विपद् उत्थानशील चाँगुनारायण निर्माण कार्यमा सहयोगी हुने बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा सभापति परशुराम पाण्डेले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले चाँगुनारायण नगरपालिकासँगको साझेदारीमा स्वस्थ्य बुढ्यौली कार्यक्रम संचालन गरिरहेको बताउनु भयो ।
उहाँले विद्यार्थीहलाई ज्येष्ठ नागरिकको महत्व र परिवार र समुदायले ज्येष्ठ नागरिक प्रति गर्ने व्यवहारका बारेमा ज्ञान दिनको लागि पनि पाठ्यक्रममै ज्येष्ठ नागरिकको विषय समावेश गर्नुपर्ने बताउनुभयो ।
सहभागिहरुलाई स्वागत गर्नुहुदै चाँगुनारायण नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा नं २ का वडाध्यक्ष सोम प्रसाद प्रधानले नगरपालिकासंग सहकार्यगरी कार्यक्रम संचालन गर्नुभएकोमा आइसेट नेपाल, डिसिए नेपाल, एनसेट तथा नेपाल रेडक्रस सोसाइटीलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा अतिथीको रुपमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका मन्त्री धर्मराज कार्की, आइसेट नेपालका कार्यकारी निर्देशक कञ्चनमणि दिक्षित, चाँगुनारायण नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश अर्याल, सामाजिक विकास शाखाकी प्रमुख निला कुमारी घिमिरे, स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवाल,एनसेटका कार्यक्रम अधिकृत ईश्वर जोशीको उपस्थिती रहेको थियो ।
कार्यशालामा चाँगुनारायण नगरपालिकाका विपद् व्यवस्थापनको प्रगतिको बारेमा इकाई प्रमुख दिनेश थापाले प्रस्तुतिकरण गर्नुभएको थियो भने आईसेट नेपालको कार्यकारी निर्देशक कञ्चनमणी दिक्षीतले आइसेट नेपालका बारेमा र स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजनाको प्रस्तुति नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाकी कार्यालय प्रमुख उमा थापाले दिनुभएको थियो । सडक सुरक्षा तथा प्राथमिक उपचारका बारेमा परामर्शदाता शिबराम गौतमले प्रस्तुतीकरण गर्नुभएको थियो।
प्रस्तुतीकरण पश्चात् सहभागीहरूलाई ४ वटा विषयगत समूहमा विभाजन गरिएको थियो जसमा विपद् जोखिम न्यूनीकरण, हरित व्यवसाय÷खानेपानी तथा सरसफाई, स्वास्थ्य प्राथमिक उपचार÷सडक सुरक्षा, लैंगिक समानता तथा सामाजिक समावेशीकरण÷स्वस्थ बुढ्यौली, बालमैत्रीहरूको पाठ्यक्रममा कक्षागत रुपमा १ देखि ३, ४ र ५, ६ देखि ८ मा समाविष्ट गर्नुपर्ने विषयवस्तुहरु टिपोट गरी प्रस्तुत गरिएको थियो।
कार्यशालाको समापनमा आफ्नो मन्तव्य राख्नुहुदै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमेगाँइले पाठ्यक्रम परिमार्जनको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले शिक्षाबाटै भविष्यका कर्णधार तयार हुने भएकाले समयानुकुल शिक्षाको आवश्यकता रहेको कुरामा जोड दिनुभयो । प्रमुख प्रशासकिय अधिकृत हुमेगाँइले कार्यशाला आयोजनामा सहयोग गर्नुहुने साझेदार संस्थाहरुलाई नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद दिनुभयो ।
चाँगुनरायण नगरपालिकाको हलमा सञ्चालित १ दिने कार्यशालामा रेडक्रस केन्द्रका कार्यक्रम संयोजक राजु राउत, परामर्शदाता राजकुमार लम्साल, आइसेट नेपालका कार्यक्रम अधिकृत अशोक महर्जनले समुहकार्यमा सहजिकरण गर्नुभएको थियो । कार्यशालामा चाँगुनारायण नगरपालिकाका विभिन्न ९ वटा विद्यालयका शिक्षक, आइसेट नेपालका फिल्ड अधिकृत भरत ढुंगाना, सहारा परियोजनाका कार्यक्रम सहायक सञ्जय अवाल, ट्राफिक प्रहरीहरु लगायत विभिन्न शाखागत कर्मचारीहरु गरी ४१ जनाको उपस्थिती रहेको थियो ।