खरीपाटी : चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले स्मार्ट सिटीको नाममा रोक्का जग्गा तत्काल फुकुवा नगरे अब जनताको आक्रोश रोक्न नसक्ने अवस्थामा आएको बताउनु भएको छ । लामो समयदेखि जनताको जग्गा रोक्का राख्दा जनताहरु अत्यन्तै आक्रोशित रहेको बताउँदै मेयर खत्रीले यसको निकास नदिए जनताको आक्रोशलाई रोक्न सक्ने अवस्था नरहेको बताउनुभयो ।
स्मिार्ट सिटीको नाममा रोक्का जग्गाको स्थलगत निरीक्षणमा आउनु भएको सहरी विकास मन्त्री धन बहादुर बुढाको ध्यानर्कषण गराउँदै मेयर खत्रीले तीन वर्षको लागि भनेर रोक्का राखिएको जग्गा सात वर्षसम्म पनि कुनै निकाश नलिकाल्दा जनताहरु मारमा परिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जग्गा रोक्का राख्दा जनता अत्यन्तै आक्रोशित छ । स्थानी जनप्रतिनिधिहरु नगरपालिका बस्न सक्ने अवस्था छैन । जनताहरुले आफ्नो जग्गा अंशबन्डा गर्न पाएका छैनन् । किनबेच गर्न पाएका छैनन । अब पनि निकाश नदिने हो भने जनताको आवेगलाई रोक्न सक्ने अवस्था छैन ।’
यसअघि नगरपालिकाको पुषमा सम्पन्न नगरसभाबाटै स्मार्ट सिटीको नाममा रोक्का जग्गा फुकुवा गर्न माग गदै नभए कित्ता काट खोल्ने निर्णय नगरपालिकाले गरिसकेको पनि उहाँले जानकारी गराउनुभयो ।
‘अहिलेसम्म जनप्रतिनिधि र स्थानीयलाई पहल हुँदैछ भनेर रोकेर राखिएको छ । अब पनि यसको निकास नदिए जनताको आक्रोश रोक्क सक्ने अवस्था छैन’, उहाँले थप्दै भन्नुभयो ।
स्थलगत निरीक्षण गर्दै मन्त्री बुढाले तत्काल यससँग सम्बन्धीत सरोकारवालाहरुसँग बसेर निकास निकाल्ने प्रतिबद्धता जनाउनु भयो ।
पाँच नगरपालिका मध्ये सबैभन्दा बढी क्षेत्रफल चाँगुनारायण नगरपालिकाको जग्गा रोक्का छ । चाँगुनारायण नगरपालिका १, २, ३, ४, ५ को पूरै भाग र ६, ७, ८ को केही भाग गरी ५२.७ वर्ग किमि जग्गा रोक्का छ ।
यसमा नगरकोट जाने सडक, भत्केको पाटी, चरेली, कलमसी र नगरकोट जंगल हुँदै तेलकोट भन्ज्याङ, मूलपानी, गोठाटार हुँदै मनोहरा पुल, भक्तपुर जाने पुरानो बाटो, साँखु जाने मूल सडक, साँखु बजार, चिहानेपाटी, तालुबारी, घट्टेखोला हुँदै तेलकोट, भक्तपुर जाने पुरानो बाटो (नेपाल सैनिक प्रतिष्ठान) खरिपाटी, देकोमिबा इतापाके जग्गा एकीकरण आयोजना, सिन्टीटार जग्गा एकीकरण आयोजना र दिव्यश्वरी जग्गा एकीकरण आयोजनाबाहेकका क्षेत्र समेटिएको छ ।