खरिपाटी: चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीसंंगको साझेदारीमा स्वस्थ बुढ्यौली परियोजना संचालन गरेको छ । चाँगुनारायण नगरपालिकाले सहारा परियोजनाको बारेमा नगरपालिकास्तरमा रहेका सरोकारवाला निकायहरुलाई जानकारी दिने उद्धेश्यले नगरपालिकास्तरीय अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।
चाँगुनारायण नगरपालिकामा आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्नुहुँदै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीबन खत्रीले चाँगुनारायण नगरपालिकाले नगरबासी ज्येष्ठ नागरिकहरुको लागि स्वास्थ्य तथा संरक्षणको क्षेत्रमा संचालन गरेका गतिविधहरुलाई समेत समावेश गरी स्वस्थ, सुरक्षित, मर्यादित र सक्रिय जीवनयापनको लागि ज्येष्ठ नागरिकलाई सक्षम बनाउनकोे लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा मार्फत स्वीस रेडक्रसले आर्थिक सहयोग तथा साझेदरीमा परियोजना संचालन गरेको बताउनुभयो । उहाँले परीयोजना सञ्चालनका आर्थिक सहयोग गर्नुहुने स्वीस रेडक्रस प्रति हार्दिक आभार ब्यक्त गर्नुभयो ।
नगर प्रमुख खत्रीले मानव अधिकारको प्रत्याभुति, सुरक्षित र सम्मानित जीवन जीउन पाउने प्रत्येक ज्येष्ठ नागरिकको मानविय अधिकारको संरक्षण गर्दै, ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरुप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्दै सभ्य तथा स्वस्थ्य समाजको निर्माण आजको आवश्यकता रहेकाले चाँगुनारायण नगरपालिकाले स्वस्थ बुढ्यौली परियोजना संचालन गरेकोे बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डेले नेपाल रेडक्रस सोसाइटी सरकारको सहयोगी निकायको रुपमा कार्य गर्दै आएकोमा स्थानीय तहसंगको सहकार्य तथा समन्वयमा ज्येष्ठ नागरीकहरुको लागि कार्य गर्न गइरहेको चाँगुनारायण नगरपालिकालाई धन्यवाद दिनुभयो । उहाँले नमूना परियोजनाको रुपमा बालकोट उपशाखामा संचालित कार्यक्रमको प्रभावकारीतालाई मध्येनजर गर्दै चाँगुनारायण नगरपालिकामा सञ्चालनको लागि पहल गर्नुभएकोमा नगर प्रमुख खत्री प्रति आभार व्यक्त गर्नुभयो ।
चाँगुनारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत वीर बहादुर खड्काले ज्येष्ठ नागरिकको लागि कार्यक्रम गर्नु भनेको हामीले आफ्नै लागि सुरक्षित समाजको निर्माण गर्नु हो भन्ने कुरा बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरुले स्वस्थ्य, सुरक्षित र मर्यादित जीवनयापन गर्न सहज बनाउनु नगरपालिकाको ध्येय भएकोले नगरपालिकाले आफ्नो श्रोतका साथै सरकारी र गैह्र सरकारी निकायहरुसंगको सहकार्य र समन्वयमा साझेदारीमा समुदायमा प्रतिफल दिने खालका कार्यक्रम र गतिविधिहरु गर्न सधै चाँगुनारायण नगरपालिका सदैव तत्पर रहेको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक बालकृष्ण सेँढाईले ज्येष्ठ नागरिकहरुको लागि परियोजना संचालनको आवश्यकता, महत्वका बारेमा जानकारी गराउनुभएको थियोे । उहाँले सहारा परियोजना स्थानीय तह र नेपाल रेडक्रस सोसाइटीले सम्झौता गरी पालिकाको नेतृत्वमा समुदायमा संचालन हुन गइरहेको पहिलो परियोजना भएको पनि जानकारी दिनुभयो । उहाँले परियोजनाको उद्धेश्य र गतिविधिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले चाँगुनारायणले नगरबासीको हित हुने खालका विभिन्न नमूना परियोजनाहरु अगाडी बढाइरहेको बताउनुभयो । स्वच्छ हावा, विपद् उत्थानशील चाँगुनारायणका साथै स्वस्थ्य बुढ्यौली पनि भक्तपुर जिल्लामा नयाँ परियोजनाका रुपमा अगाडी बढाएकोमा सफलताको कामना पनि गर्नुभयो ।
चाँगुनारायण नगरापालिका सामाजिक विकास शाखाकी प्रमुख निला कुमारी घिमिरेले सहभागिहरुलाई स्वागत गर्नुहुँदै चाँगुनारायण नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण, अक्सिजन निःशुल्क रुपमा वितरण, विभिन्न औषधीहरु निःशुल्क वितरण, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, ज्येष्ठ नागरिक समुह गठन, बाद्यबाधन सामग्रीहरु वितरण, धार्मिक भ्रमण जस्ता विविध कार्यक्रम तथा गतिविधिहरु संचालन गरिरहेको जानकारी दिनुभयो ।
अभिमुखिकरणमा नेपाली काँग्रेसका शिवहरि के.सी, राप्रपाका रमेश अधिकारी, नेकपा माओवादीका नरेश खड्का, नेमकिपाका सन्तराम दुलाल, गै.स.स चाँगुनाराया नगर समन्वय समितिकी मनिषा कार्की लगायतले ज्येष्ठ नागरिकहरुको लागि नगरपालिका र रेडक्रसले संयुक्त रुपमा सञ्चालन गर्न लागेका सहारा कार्यक्रमले नगरबासी ज्येष्ठ नागरिकहरुको मुहारमा खुशीको सञ्चार गराउने कुरामा विश्वास व्यक्त गर्नुहुदै परियोजनाका गतिविधिहरुका समुदायका युवा, महिला लगायत सबै बर्गलाई पनि जोड्न सकेमा परियोजना अझ प्रभावकारी हुने बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरुले परियोजना सञ्चालनका बारेमा जानकारी पाउँदा खुशी ब्यक्त गर्नुहुँदै उहाँहरुले भोग्दै आएको कठिनाइहरुको बारेमा पनि अवगत गराउनुभएको थियो ।
चाँगुनारायण नगरपालिकाका ज्येष्ठ नागरीकहरुको स्वास्थ्य तथा सम्पन्नतामा सुधार ल्याउन सहयोग गर्ने, ज्येष्ठ नागरीकहरुको लागि आवश्यक सेवाहरुको पहुँचमा अभिबृद्धि गर्ने र ज्येष्ठ नागरीकहरु प्रति समाजले गर्ने कार्य तथा ब्यबहारहरुमा सकारात्मक परिवर्तन ल्याउने उद्धेश्यका लागि संचालन हुन गइरहेको सहारा परियोजना ज्येष्ठ नागरिक मिलन केन्द्र मार्फत चाँगुनारायण नगरपालिकाका ९ वटै वडामा संचालन गरिनेछ । जनवरी २०२४ देखि डिसेम्बर २०२६ सम्म ३ वर्षका लागि संचालन हुने परियोजनाको कुल लागत ३ करोडको हुनेछ । स्वीस रेडक्रसले परियोजनाको कम्तीमा ५० प्रतिशत लागत ब्यहोर्नेछ भने बाँकी रकम नगरपालिकाले वार्षिक बजेटबाट विनियोजन गर्नेछ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका मन्त्री धर्मराज कार्की, कोषाध्यक्ष प्रदिप कुमार के.सी, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सोम प्रसाद प्रधान, कार्यपालिका सदस्यहरु, ९ वटै वडाका ज्येष्ठ नागरिक मिलन केन्द्रका प्रतिनिधिहरु सामाजिक विकास शाखा प्रमुख नीला कुमारी घिमिरे, उपनिर्देशक बालकृष्ण सेँढाई, अधिकृत राजु राउत, चाँगुनारायण नगरपालिकाका विपद् विज्ञ एवं परियोजना संयोजक दिनेश थापा, भक्तपुर रेडक्रसका कार्यालय प्रमुख उमा थापा लगायत ३९ जनाको उपस्थिती रहेको थियो ।