नगरकोट : चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीसहित जनप्रतिनिधिहरुको पहलपछि नगरकोट सडक खण्डको बाँकि काम शूरु भएको छ । लामो समयदेखि अलपत्र भक्तपुर भत्केकोपाटी–नगरकोट सडक खण्डको बाँकि काम शूरु गरिएको हो ।
यसअघि पटक पटक ताकेता गर्दा पनि निर्माण ब्यवसायीले काम सम्पन्न नगरेपछि गत बिहीबार चाँगुनारायण नगरपालिकामा सरोकारवालाबीच भएको छलफलमा आइतबारबाट बाँकि काम शूरु गर्ने प्रतिबद्धता गरिएको थियो । सोही प्रतिबद्धता अनुसार निर्माण ब्यवसायीले काम शूरु गरेको हो ।
नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ घोषणा गरेर तयारी तीब्र बनाइरहँदा नगरकोट सडक सबैभन्दा ठूलो चुनौती बन्दै आएको छ भने स्थानीयवासीले सास्ती खेप्दै आएका छन् ।
१५ किलोमिटर छ सय ६० मिटर लामो भक्तपुर–नगरकोट सडक खण्ड निर्माण गर्न शैलुङ कन्स्ट्रक्सन–एआइपिएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले २०७१ जेठ २२ मा सम्झौता गरी २०७३ कात्तिक ४ गते निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर करिब एक दसक भइसक्दा पनि निर्माण पूरा हुन सकेको छैन ।