भक्तपुर: चाँगुनारायण नगरपालिकाको आयोजना तथा गैह्र सरकारी संस्था महासंघ चाँगुनारायण नगर समन्वय समितिको आयोजनामा स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजनामा सुझाब संकलनको लागि कार्यशाला सम्पन्न भएको छ ।
चाँगुनारायण नगरपालिकाको नवनिर्मित प्रशासकिय भवनको हलमा सम्पन्न कार्यशालामा चाँगुनारायण नगरपालिकाका कार्यपालिका सदस्य निर्मला के.सी, कार्यदलका सदस्य प्रदिप कुमार के.सी, नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अनुप लामिछाने, गै.स.स महासंघ चाँगुनारायण नगर समन्वय समतिका संयोजक मनिषा कार्की, नगरपालिका क्षेत्र भित्रका विभिन्न गैह्र सरकारी संघसंस्थाका प्रतिनिधिहरु गरी ३१ जनाको उपस्थिति रहेकोे थियो ।
प्राकृतिक तथा गैह्र प्राकृतिक विपद््बाट जीवन तथा सम्पत्ति, स्वास्थ्य, जीविकोपार्जन तथा उत्पादनका साधनहरू, भौतिक एवं सामाजिक पूर्वाधार, सांस्कृतिक एवं वातावरणीय सम्पदामा हुने क्षतिको उल्लेख्य रूपमा न्यूनीकरण गर्न विभिन्न रणनीतिक क्रियाकलापहरूको पहिचान गरी आवधिक तथा वार्षिक योजना तर्जुमा गरी कार्यान्वयन गर्दै विपद् जोखिम रोकथाम, पूर्वतयारी, प्रतिकार्य एवं पुनस्र्थापना तथा पुनर्निर्माणको सुदृढीकरण र उत्थानशीलता अभिबृद्धि गरी विद्यमान विपद् जोखिम तथा क्षतिको न्यूनीकरण र नयाँ जोखिमको रोकथाम गर्नका लागि गैह्र सरकारी संघ संस्थाको भूमिका तथा कार्यदलले तयार गरेको मस्यौदामा थप गर्नुपर्ने योजनाहरुको संकलनको उद्देश्यकासाथ कार्यशाला आयोजना गरिएको हो ।
कार्यशालाका सहभागीहरुलाई समुह विभाजन गरी विभिन्न ४ वटा प्राथमिकता प्राप्त क्षेत्रहरुमा समुह कार्य गरी सम्भावित रणनीतिक क्रियाकलापहरू संकलन गरिएको थियो ।
प्राथमिकता प्राप्त क्षेत्रहरुमा क्रमशः विपद् जोखिम बारे बुझाई, स्थानीय तहमा विपद्् जोखिम शासकीय पद्धतिको सुदृढीकरण, विपद् जोखिम न्यूनीकरणका लागि उत्थानशीलता वृद्धि गर्न बृहत्तर जोखिम जानकारीमा आधारित निजी तथा सार्वजनिक लगानी प्रवर्धन र प्रभावकारी विपद्् प्रतिकार्य र पुनर्लाभ, पुनः स्थापना तथा पुनः निर्माणमा “अझ राम्रो र बलियो निर्माण” का लागि विपद्् पूर्वतयारीको सुदृढीकरण रहेका थिए ।
कार्यशालाको समापनमा चाँगुनारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बीर बहादुर खड्काले सुझाबहरु लिखित रुपमा प्रस्तुतिकरण गर्नु भएकोमा सहभागिहरुलाई धन्यवाद दिनुहुदै आएको महत्वपूर्ण सुझाबहरुलाई विपद् जोखिम रणनीतिक कार्ययोजना तयारी कार्यदलले योजनामा समावेश गर्ने बताउनु भयो ।
उहाँले विपद् उत्थानशील नगरपालिका बनाउने तर्फ चाँगुनारायण नगरपालिका अग्रसर भइ कार्य गरिरहेकोले सबैको सामुहिक प्रयासबाट मात्रै उत्थानशील नगरपालिका बनाउन सकिने भएकाले नगरपालिकाको नेतृत्वमा संचालित कार्यक्रम तथा गतिविधिहरुमा सबैले हातेमालो गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
गै.स.स महासंघ चाँगुनारायण नगर समन्वय समितिकी संयोजक मनिषा कार्कीले विभिन्न संघसंस्थाबाट सहभागिता जनाउनुभएकोमाम सहभागिहरुलाई हार्दिक धन्यवाद दिनुहुदै चाँगुनारायण नगरपालिकाले संचालन गर्ने कार्यक्रम तथा गतिविधिहरुमा सहकार्य गर्न पाएकोमा खुशी ब्यक्त गर्नुभयो ।
कार्यशालामामा चाँगुनारायण नगरपालिकाका विपद् विज्ञ एवं परामर्शदाता दिनेश थापा, प्रशिक्षकहरु राजकुमार लम्साल, दिवाकर पौडेलले सहजीकरण गर्नुभएको थियो ।