भक्तपुर, ३० साउन : चाँगुनारायण नगरपालिका–७, मुहानपोखरीमा सो–क्योकुशिन कराँते संघको शाखा डोजोको आयोजनामा खेलाडी सम्मान तथा बेल्ट वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले खेलाडीहरूलाई सम्मान तथा बेल्ट वितरण गर्नुभयो।

सो अवसरमा नगरप्रमुख खत्रीले चाँगुनारायण नगरपालिकामा पछिल्लो समय खेल क्षेत्रको विकास तथा विस्तार हुँदै गएको बताउँदै हरेक टोल–टोलबाट खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले खेलाडीलाई निरन्तर प्रशिक्षणसँगै पर्याप्त खेल सामग्री उपलब्ध गराउन सके उत्कृष्ट खेलाडी उत्पादनमा समस्या नहुने बताउनुभयो।

खेल क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग तथा प्रोत्साहनमा नगरपालिकाको साथ रहने उहाँको भनाइ थियो।

कार्यक्रममा चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष धनबहादुर तामाङ, वडा नं. ७ का वडाध्यक्ष श्यामकृष्ण नयाजु श्रेष्ठ लगायतले खेलाडीहरूलाई हौसला प्रदान गर्नुभयो।

उहाँहरूले खेलाडीको प्रतिभा विकासका लागि नियमित प्रशिक्षण, उचित अवसर र आवश्यक खेल सामग्रीको व्यवस्थापन महत्वपूर्ण रहेको बताउनुभयो।

चाँगुनारायण सो–क्योकुशिन कराँतेका अध्यक्ष तथा प्रमुख प्रशिक्षक करुणा राउत क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य श्यामकाजी न्याजु, सो–क्योकुशिन कराँतेका नेपाल ब्रान्च चिफ राजकुमार श्रेष्ठ, फुलकन्ट्याक्ट कराँते महासंघ तथा सो–क्योकुशिन कराँतेका केन्द्रीय सदस्य रामहरि खड्का, समाजसेवी रामप्रसाद लामिछाने ‘पीडित’ लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो।

कार्यक्रममा १०० जना खेलाडी तथा ६५ जना अभिभावक र खेलप्रेमी गरी कुल १६५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा खेलाडी राकेन भुजेलले माटोको घैँटो फुटाउने प्रदर्शन गर्नुभएको थियो।

त्यसैगरी साया लामिछाने, हिमशिखा लामिछाने, वर्षा साङ्बो, जेनिशा मगर र सदीक्षा लामाले स्वागत नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाउनुभएको थियो।

कार्यक्रममा मुहानपोखरी डोजोका अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता खेलाडी रोचक भारती र पूजा खड्का तथा अन्तर्राष्ट्रिय रेफ्री करुणा राउत क्षेत्रीलाई नगरपालिकाको तर्फबाट सम्मानपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

त्यस्तै, तेस्रो बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिताको खुला तौल समूहमा रजत पदक हासिल गर्ने खेलाडी रोचक भारती तथा ४० केजी तौल समूहमा कास्य पदक हासिल गर्ने खेलाडी रिजन खत्रीलाई पनि कदरपत्र प्रदान गरिएको थियो।

डोजोको पुरुषतर्फ आयुष अधिकारी र महिलातर्फ प्रिन्सा भुजेल उत्कृष्ट खेलाडी घोषित भएका छन्। त्यस्तै, अनुशासित खेलाडीका रूपमा रोनिशा भुजेल र निकेश तामाङले ट्रफी हात पारे।

खेलसँगै अध्ययनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो। वि.सं. २०८२ सालको परीक्षामा संस्थागत विद्यालयतर्फ ४.० जीपीए ल्याउन सफल खेलाडी सृजन बास्तोला तथा सरकारी विद्यालयतर्फ ३.५८ जीपीए ल्याउने खेलाडी साजना अधिकारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाकी सचिव निर्मला भट्टले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष दीपक गिरीले दिनुभएको थियो।

बेल्ट वितरण तथा खेलाडी सम्मान कार्यक्रमले खेलाडीहरूमा थप उत्साह र आत्मविश्वास बढाउनुका साथै स्थानीयस्तरबाटै नयाँ प्रतिभा पहिचान र उत्पादन गर्न महत्वपूर्ण योगदान पुग्ने आयोजकले जनाएको छ।
