नवदुर्गा गणको उत्पत्तिस्थल सुडालकाे ठुली ब्रह्मायणीमा भव्य धार्मिक समारोहबीच टेराकोटा शैलीको ऐतिहासिक सत्तल उद्घाटन

भक्तपुर, २८ साउन : भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालस्थित नवदुर्गा गणको उत्पत्तिस्थलका रूपमा परिचित ठुली ब्रह्मायणी मन्दिर परिसरमा नवनिर्मित आकर्षक टेराकोटा शैलीको सत्तल (फल्चा) भव्य समारोहबीच उद्घाटन गरिएको छ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस पवित्र स्थलमा आयोजित भव्य धार्मिक समारोहमा भक्तपुरका विभिन्न स्थानबाट ठूलो संख्यामा श्रद्धालु तथा दर्शनार्थीहरूको सहभागिता रहेको थियो।बाजागाजासहित आयोजना गरिएको समारोहमा पूजापाठ, क्षमापूजा, समर्पण तथा प्रसाद वितरणलगायतका कार्यक्रम सम्पन्न भएका छन्।

आफ्ना दिवंगत बुबा–आमाको स्मृतिमा भक्तपुर नगरपालिका–९, तौलाछें निवासी विष्णुप्रसाद (किसी) प्रजापति र मोहनप्रसाद (किसी) प्रजापतिले निजी लगानीमा निर्माण गराउनुभएको सत्तल उद्घाटनसँगै मन्दिर संरक्षण समितिलाई हस्तान्तरण गरिएको हो।

सत्तल उद्घाटनपछि मन्तव्य राख्दै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले कला, संस्कृति र धार्मिक सम्पदा कुनै एक क्षेत्र वा समुदायमा मात्र सीमित नहुने बताउँदै यिनै धरोहरले धर्म, संस्कृति र मौलिक परम्परालाई पुस्तौँदेखि जीवन्त राखेको उल्लेख गर्नुभयो।

चाँगुनारायण र भक्तपुर मिलेर यहाँको कला, संस्कृति, परम्परा तथा धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा अझ सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा संस्कृतिविद् डा. पुरुषोत्तम लोचन श्रेष्ठले ठुली ब्रह्मायणी क्षेत्र चाँगुनारायणको गौरवसँग जोडिएको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदा भएको बताउनुभयो। यसको जागरण, संरक्षण र संवर्द्धन सबैको साझा दायित्व रहेको उल्लेख गर्दै धार्मिक पर्यटन र सांस्कृतिक चेतना अभिवृद्धि गर्न यसको व्यापक प्रचार–प्रसार आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।

त्यस्तै, भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले चाँगुनारायण र भक्तपुरबीचको सम्बन्ध धर्म र संस्कृतिका कारण ऐतिहासिक रूपमा जोडिएको बताउनुभयो। आगामी दिनमा पनि यस्ता सम्पदाको संरक्षण, प्रवर्द्धन र विकासका लागि सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

चाँगुनारायण नगरपालिका–८ का वडाध्यक्ष जनक खत्रीले ठुली ब्रह्मायणी मन्दिर परिसर ११५ रोपनी क्षेत्रफलमा फैलिएको उल्लेख गर्दै यसको समग्र संरक्षण, व्यवस्थापन र विकासका लागि योजनाबद्ध रूपमा अघि बढ्ने बताउनुभयो। मन्दिर क्षेत्रलाई गुरुयोजना बनाएर व्यवस्थित तथा आकर्षक धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

यसैबीच, सुडाल ब्रह्मायणी विकास समितिका अध्यक्ष सहदेव साखकर्मीले उद्घाटन कार्यक्रम सोचिएको भन्दा पनि भव्य र सफल भएकोमा खुसी व्यक्त गर्नुभयो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा श्रद्धालुप्रति उहाँले धन्यवाद ज्ञापन गर्नुभयो।

सत्तल निर्माणमा सहयोग गर्नुभएका विष्णुप्रसाद (किसी) प्रजापतिले आफूले विभिन्न स्थानमा सामाजिक कार्य गर्दै आएको उल्लेख गर्दै ठुली ब्रह्मायणी परिसरमा सामाजिक सेवा तथा सत्तल निर्माणमा योगदान गर्ने अवसर पाउनु आफ्ना लागि गौरवको विषय भएको बताउनुभयो।

आगामी दिनमा पनि यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आफूले सक्ने सहयोग निरन्तर गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

सोही अवसरमा चाँगुनारायण नगरपालिका र सुडाल ब्रह्मायणी विकास समितिले विष्णुप्रसाद र मोहनप्रसाद प्रजापतिकाे धर्म पत्नी सहित दाजुभाइलाई सम्मान गरिएको थियो।

कार्यक्रममा वनमाला समाजका सल्लाहकार नारायण वनमालालगायतले ठुली ब्रह्मायणीको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वबारे धारणा राख्नुभएको थियो।

त्यस्तै, पासा पुचः यूकेका सल्लाहकार शिवजी श्रेष्ठले धर्म र संस्कृति नै कुनै पनि देशको पहिचान र अस्तित्वको आधार भएको बताउनुभयो।

धर्म–संस्कृतिको संरक्षण हुन सके मात्र देशको मौलिक पहिचान र अस्तित्व कायम रहने उल्लेख गर्दै भावी पुस्ताका लागि यस्ता धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु सबैको साझा दायित्व भएकोमा उहाँले जोड दिनुभयो।

धार्मिक आस्था, मौलिक कला, वास्तुकला र सांस्कृतिक इतिहासलाई एकै ठाउँमा समेटेको ठुली ब्रह्मायणी क्षेत्र चाँगुनारायणको धार्मिक पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण गन्तव्य बन्न सक्ने विश्वास गरिएको छ।

नयाँ सत्तलले यस क्षेत्रको मौलिकता र सौन्दर्य थप आकर्षक बनाउनुका साथै धार्मिक तथा सांस्कृतिक पर्यटकलाई आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नवदुर्गा गणको उत्पत्तिस्थल, ऐतिहासिक ठुली ब्रह्मायणी मन्दिर र यहाँको मौलिक संस्कृति–परम्पराको संरक्षणसँगै यस क्षेत्रलाई चाँगुनारायणको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न स्थानीय तह, समुदाय र भक्तपुरवासीबीचको सहकार्य अझ बलियो बनाउने सन्देशसमेत कार्यक्रमले दिएको छ।

थप तस्बिरहरू चाँगुनारायण खबरको आधिकारिक फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।