चाँगुनारायणको गौरव : १८ वर्षमै कमर्सियल पाइलट बने ताथलीका कुशल बस्नेत

भक्तपुर, साउन २० — चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका युवा कुशल बस्नेतले मात्र १८ वर्षको उमेरमै कमर्सियल पाइलट लाइसेन्स (CPL) प्राप्त गर्दै उल्लेखनीय सफलता हासिल गरेका छन्।

सानैदेखि आकाशमा उड्ने सपना बोकेका बस्नेतले निरन्तरको मेहनत, अनुशासन र दृढ संकल्पका साथ आफ्नो लक्ष्य पूरा गरेका हुन्। कम उमेरमै व्यावसायिक पाइलट बन्न सफल भएपछि उनी ताथलीका मात्र होइन, समग्र चाँगुनारायण नगरपालिकाकै गर्वका पात्र बनेका छन्।

कुशलको यो उपलब्धिले नेपाली युवाहरूलाई आफ्नो सपना पछ्याउन प्रेरणा दिएको स्थानीयवासीहरूको भनाइ छ। कठिन मानिने उड्डयन क्षेत्रमा १८ वर्षमै व्यावसायिक उडानको योग्यता हासिल गर्नु आफैंमा एउटा ऐतिहासिक उपलब्धि भएको उनीहरू बताउँछन्।

उनको सफलताप्रति परिवार, आफन्त, साथीभाइ तथा स्थानीय समुदायले हर्ष व्यक्त गर्दै उज्ज्वल भविष्यको शुभकामना दिएका छन्। आगामी दिनमा कुशलले सुरक्षित, सफल र जिम्मेवार उडानमार्फत देशको नाम अन्तर्राष्ट्रिय स्तरमा अझ उँचो बनाउने विश्वास व्यक्त गरिएको छ।

१८ वर्षमै कमर्सियल पाइलट बनेका कुशल बस्नेतको यो सफलता चाँगुनारायणका युवाका लागि मात्र होइन, सपना देख्ने र त्यसका लागि निरन्तर मेहनत गर्ने सम्पूर्ण नेपाली युवाका लागि प्रेरणादायी उदाहरण बनेको छ।