भक्तपुर, साउन २० : भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित नवदुर्गा गणको उत्पत्तिस्थलका रूपमा परिचित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ठुली ब्रह्मायणी मन्दिर परिसरमा निर्माण गरिएको नमुना कलात्मक मृत्तिका (टेराकोटा) शैलीको सत्तल (फल्चा) आगामी साउन २८ गते बिहीबार उद्घाटन गरिने भएको छ।

सुडाल ब्रह्मायणी विकास समितिका अनुसार भक्तपुर नगरपालिका–९ तौलाछें निवासी विष्णु प्रसाद (किसी) प्रजापति र मोहन प्रसाद (किसी) प्रजापतिले आफ्ना बुबा–आमाको स्मृतिमा निजी लगानीबाट निर्माण गराएको उक्त सत्तलको उद्घाटनसँगै हस्तान्तरण, क्षमापूजा, समर्पण, सम्मान तथा प्रसाद वितरण कार्यक्रम आयोजना गरिएको हो।

समितिका अध्यक्ष सहदेव साखकर्मीका अनुसार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने कार्यक्रममा देशभरका श्रद्धालु भक्तजनलाई सहभागी भई ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण अभियानमा ऐक्यबद्धता जनाउन हार्दिक निमन्त्रणा गरिएको छ।
समितिले यस कार्यक्रमलाई एउटा भौतिक संरचनाको उद्घाटनमा मात्र सीमित नराखी सुडालको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र पुस्तान्तरणसँग जोडिएको महत्वपूर्ण अभियानका रूपमा लिएको जनाएको छ।

स्थानीय परम्परा तथा पौराणिक मान्यताअनुसार सुडालस्थित ठुली ब्रह्मायणी मन्दिर नवदुर्गा गणको उत्पत्तिस्थल तथा आदि पीठका रूपमा परिचित छ। मन्दिर वरपर रहेको नवदुर्गा ज्वल (जङ्गल) मा नवदुर्गा प्रकट भई विचरण गर्ने र त्यस क्षेत्रका मानिसहरूमा त्रास फैलिएको किंवदन्ती पुस्तौंदेखि सुनिँदै आएको छ।
त्यस्तै, सुडाल क्षेत्रमा रहेका जेठी, माहिली र कान्छी ब्रह्मायणी बीचको धार्मिक सम्बन्ध, मध्यरातमा सेतो घोडामा भेटघाट गर्न जाने जनविश्वास, लिच्छवी र मल्लकालीन इतिहाससँग जोडिएका प्रसङ्ग तथा ब्रह्मायणी जात्रासहितका परम्पराले यस क्षेत्रलाई धार्मिक र सांस्कृतिक दृष्टिले विशिष्ट बनाएको पुस्तिकामा उल्लेख छ।

आदि पीठदेखि भक्तपुरको ब्रह्मायणी पीठसम्म पुरानो इँटा बिछ्याइएको बाटो रहेको, ब्रह्मायणी ज्वलका रुख काट्न वा त्यसका पात दाउराका रूपमा प्रयोग गर्न नहुने धार्मिक मान्यता तथा शिवरात्रि, हरितालिका तीज, बाला चतुर्दशी र ब्रह्मायणी जात्राजस्ता परम्परा आज पनि निरन्तर रूपमा मनाइँदै आएका छन्।
समितिका अनुसार ऐतिहासिक तथा पौराणिक सम्पदालाई थप व्यवस्थित, आकर्षक र संरक्षणमुखी बनाउने उद्देश्यले निर्माण गरिएको टेराकोटा शैलीको सत्तलले मन्दिर परिसरको सौन्दर्य अभिवृद्धिसँगै धार्मिक तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

सत्तल निर्माण तथा धार्मिक कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने दाताहरूलाई उक्त अवसरमा विशेष सम्मान गरिने सुडाल ब्रह्मायणी विकास समितिले जनाएको छ।
