गत वर्षको तुलनामा बजेट घट्यो, आन्तरिक राजस्व लक्ष्य पनि यथार्थपरक बनाइयो
भक्तपुर, १० असार । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ४ करोड ४५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख रमेश बुढाथोकीले नगरसभामा बजेट वक्तव्य प्रस्तुत गर्नुभएको हो ।

नगरपालिकाले गत आर्थिक वर्षमा २ अर्ब ५६ करोड ४ लाख ६६ हजार ८ सय ४० रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा अनुमानअनुसार राजस्व संकलन हुन नसकेपछि आगामी आर्थिक वर्षको बजेटको आकार घटाइएको हो ।

यसपटक नगरपालिकाले उपलब्ध स्रोत र राजस्व संकलनको अवस्थालाई आधार बनाएर बजेटलाई यथार्थपरक बनाएको जनाएको छ । अघिल्लो वर्ष आन्तरिक राजस्वतर्फ करिब ७६ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको भए पनि लक्ष्यअनुसार राजस्व उठ्न नसकेपछि आगामी वर्षका लागि आन्तरिक आयको अनुमान घटाएर ३४ करोड ६ लाख २० हजार रुपैयाँ कायम गरिएको छ ।

बजेट वक्तव्यअनुसार नगरपालिकाले आन्तरिक स्रोततर्फ सिफारिस दस्तुर, व्यवसाय दर्ता तथा नवीकरण शुल्क, घरनक्सा पास दस्तुरलगायतबाट उक्त रकम प्राप्त हुने अनुमान गरेको छ ।

त्यस्तै सवारी साधनको राजस्व बाँडफाँडबाट ८ करोड २२ लाख रुपैयाँ र घरजग्गा रजिष्ट्रेशनबाट ८६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १६ करोड ३७ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट १२ करोड ४१ लाख ९१ हजार रुपैयाँ तथा सशर्त अनुदानतर्फ ३८ करोड ८० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै संघीय सरकारको समपूरक अनुदानतर्फ ५५ लाख रुपैयाँ र विशेष अनुदानअन्तर्गत योजना बैंकमा रहेको बहुवर्षीय योजनाका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । उक्त योजनाका लागि चालु आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ प्राप्त भएको उल्लेख छ ।

बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत १ करोड ४९ लाख ९७ हजार रुपैयाँ, सशर्त अनुदानमार्फत ३ करोड ५१ लाख २५ हजार रुपैयाँ तथा विशेष अनुदानमार्फत ७० लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि, पर्यटन, सामाजिक विकास तथा नागरिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ ।

वडास्तरीय योजना कार्यान्वयनका लागि प्रत्येक वडा कार्यालयलाई २ करोड रुपैयाँका दरले कुल १८ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ भने कार्यपालिका सदस्यहरूमार्फत योजना छनोटका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नागरिक सहभागितामा योजना छनोट गर्दै समावेशी विकास र प्रभावकारी सेवा प्रवाहलाई लक्ष्य राखेर बजेट ल्याइएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै नगरपालिकाले अन्य प्रशासनिक तथा कार्यालय सञ्चालनतर्फ करिब ३५ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।



