भक्तपुर: चाँगुनारायण नगरपालिकाको १८ औँ नगरसभा (अधिवेशन) भोलि बुधबार बस्ने भएको छ। नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा बस्ने उक्त नगरसभा चाँगुनारायण नगरपालिका, चाँगुनारायण हल, खरिपाटी, भक्तपुरमा अपराह्न ३:०० बजे बस्नेछ।
उक्त नगरसभाबाट वर्तमान कार्यकालको अन्तिम तथा महत्वपूर्ण बजेट, नीति तथा कार्यक्रम सार्वजनिक हुनुका साथै रकमान्तर तथा आवश्यक ऐन–कानुनहरू पनि पारित गर्ने तयारी गरिएको छ ।
गत पुषमा नियमित हुनुपर्ने नगरसभा सम्पन्न हुन नसक्दा यसअघि रकमान्तर प्रक्रिया तथा विभिन्न नीति–कार्यक्रम र ऐन–कानुन निर्माणका कार्यहरू प्रभावित भएका थिए।
संविधान तथा स्थानीय तह सम्बन्धी कानुनी व्यवस्थाअनुसार आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट असार १० गतेभित्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। सोही संवैधानिक समयसीमाभित्र नगरसभा बस्न लागेको हो।
लामो समयपछि बस्न लागेको यस नगरसभालाई वर्तमान कार्यकालको अन्तिम तथा निर्णायक बैठकका रूपमा हेरिएको छ, जसले नगरको आगामी विकास प्राथमिकता र योजनागत दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।
