ऋण चुक्ता गरिसक्दा पनि नाम सार्वजनिक भएपछि प्रदेश मन्त्री किरण थापा मगरको आपत्ति

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सार्वजनिक गरेको ओरिएन्टल सहकारीका ऋणीहरूको नामावलीमा आफ्नो नाम समावेश गरिएकोप्रति प्रदेश मन्त्री किरण थापा मगर ले गम्भीर आपत्ति जनाउनु भएको छ।

मन्त्री मगरले आफूले ऋण रकम यसअघि नै पूर्ण रूपमा चुक्ता गरिसकेको दाबी गर्दै आफ्नो नाम भुलवश सूचीमा परेको बताउनु भएको छ। सम्बन्धित व्यवस्थापन समितिले समेत उक्त त्रुटि स्वीकार गर्दै आवश्यक प्रक्रिया अघि बढाइसकेको उहाँले उल्लेख गर्नु भएको छ।

उहाँका अनुसार ओरिएन्टल सहकारीमार्फत एक सहकर्मीलाई सहयोगस्वरूप लिइएको ऋण सहकर्मीको निधनपछि आफूले नै जिम्मेवारीपूर्वक तिर्दै मिति २०८२/०६/२१ गते सम्पूर्ण रकम चुक्ता गरिएको हो। साथै बैंक खाता समेत पूर्ण रूपमा फुकुवा भइसकेको उहाँको भनाइ छ।

“कहिलेकाहीँ परिस्थितिले गलत बुझाइ सिर्जना गर्न सक्छ, तर सत्य कहिल्यै लुक्दैन,” भन्दै उहाँले जिम्मेवारी, इमानदारी र पारदर्शिताका साथ जनताको सेवामा निरन्तर समर्पित भएर लागिरहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।