चाँगुनारायण (भक्तपुर) — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समितिले नगरको दीर्घकालीन र दिगो विकासका लागि विज्ञहरूको सुझावमा आधारित ५ वर्षे रणनीतिक योजना निर्माण गर्ने भएको छ।
“समृद्ध र आत्मनिर्भर चाँगुनारायण” निर्माण अभियान अन्तर्गत स्थानीय प्रबुद्ध व्यक्तित्वसँगको व्यापक परामर्शलाई योजनाको मुख्य आधार बनाइने जनाइएको छ।

नगर सभापति रोशन थापाका अनुसार हचुवाभन्दा तथ्य, अध्ययन र विज्ञतामा आधारित योजना मार्फत नगरको आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने लक्ष्य राखिएको छ।
प्रस्तावित योजनाअन्तर्गत आगामी ५ वर्षभित्र नगरपालिकाको वार्षिक बजेट ३ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिइएको छ। साथै, आन्तरिक आम्दानी वृद्धि गर्दै वार्षिक १.५ अर्ब रुपैयाँ पुर्याउने स्पष्ट रोडम्याप तयार गरिने बताइएको छ।

त्यसैगरी, विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायणको मौलिकता जोगाउँदै प्रविधिमैत्री “स्मार्ट हेरिटेज सिटी” का रूपमा विकास गर्ने दीर्घकालीन सोच पनि अघि सारिएको छ।
रास्वपाले विकासका दुई मुख्य आधारका रूपमा ‘विज्ञको ज्ञान र युवाको श्रम’ लाई लिएको छ। नगरभित्र तथा बाहिर रहेका इन्जिनियर, अर्थशास्त्री, संस्कृतिविद् र वातावरणविद्सँगको छलफलबाट प्राप्त सुझावलाई नीतिगत रूपमा रूपान्तरण गरिनेछ।

नगर समितिका सभापति थापाले भने, “हामी परम्परागत राजनीतिक शैलीभन्दा माथि उठेर तथ्याङ्क र विज्ञतामा आधारित योजना बनाउन चाहन्छौँ। विज्ञहरूसँगको बृहत् छलफलबाट निस्कने निष्कर्ष नै हाम्रो मार्गचित्र हुनेछ।”
योजनाले विशेष गरी सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन, आधुनिक कृषि, स्थानीय उत्पादनको बजारीकरण, डिजिटल सुशासन तथा युवा स्वरोजगारका लागि स्टार्टअप कोष स्थापना जस्ता क्षेत्रमा प्राथमिकता दिनेछ।

रास्वपाको यो पहलले नगरबासीमा नयाँ आशा जगाएको विश्वास व्यक्त गर्दै थापाले यो प्रक्रिया पहिलो चरण मात्र भएको र अब यसलाई अभियानकै रूपमा अघि बढाइने जानकारी दिए।
