भक्तपुरका विकास एजेन्डामा प्रधानमन्त्रीसँग छलफल: स्मार्ट सिटी पुनरावलोकनदेखि इँट्टा भट्टा नियमनसम्म

भक्तपुर–१ का माननीय सांसद रुकेश रन्जितले प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटवार्तामा भक्तपुरको समग्र विकास तथा सुशासनसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल गर्नुभएको छ।

छलफलका क्रममा स्मार्ट सिटी अवधारणाको पुनरावलोकन गर्दै यसको प्रभावकारिता र स्थानीय आवश्यकता अनुसार पुनः मूल्याङ्कन गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराइएको छ। साथै, मापदण्ड विपरीत सञ्चालनमा रहेका इँट्टा भट्टाहरूलाई कडाइका साथ नियमन तथा व्यवस्थापन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिइएको छ।

त्यस्तै, भक्तपुर औद्योगिक क्षेत्रलाई क्राफ्ट भिलेज अवधारणामा रूपान्तरण गर्ने, सल्लाघारीस्थित ९९ रोपनी क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र स्थापना गर्ने तथा महादेव खोला बहुउद्देश्यीय खानेपानी आयोजनामा बजेट विनियोजन गर्ने विषयमा पनि छलफल भएको छ।

भेटघाटमा ख्वप विश्वविद्यालय विधेयकलाई छिट्टै अघि बढाउने, नेपाल इन्जिनियरिङ कलेजको समस्या समाधान, युटिलिटी करिडोरसम्बन्धी कानुन पारित गर्ने प्रक्रिया अघि बढाउने लगायतका विषयहरूमा समेत विचार–विमर्श गरिएको जनाइएको छ।

भक्तपुरको पूर्वाधार विकास, वातावरणीय व्यवस्थापन, शिक्षा र सांस्कृतिक संरक्षणलाई प्राथमिकतामा राख्दै भेटवार्ता सम्पन्न भएको बताइएको छ।