वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा चाँगुनारायणको उल्लेखनीय प्रगति

भक्तपुर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकन नतिजामा चाँगुनारायण नगरपालिकाले ६२ दशमलव ५९ अंक प्राप्त गर्दै उल्लेखनीय प्रदर्शन गरेको छ।

आयोगले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार वित्तीय अनुशासन, बजेट कार्यान्वयन, सेवा प्रवाह, पारदर्शिता र सुशासनका सूचकहरूका आधारमा गरिएको मूल्यांकनमा चाँगुनारायणले सन्तोषजनक उपलब्धि हासिल गरेको हो।

भक्तपुर जिल्लाभित्रको तुलनामा हेर्दा, चाँगुनारायणले प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो स्थान मजबुत बनाएको देखिन्छ। स्थानीय सरकार सञ्चालन, योजनाको प्रभावकारी कार्यान्वयन तथा नागरिक सेवामा सुधारका कारण नगरपालिकाले स्थिर प्रगति कायम राख्न सफल भएको विश्लेषण गरिएको छ।

नगरपालिकाले आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने, विकास आयोजनालाई समयमै सम्पन्न गर्ने तथा सुशासनका अभ्यासलाई थप सुदृढ गर्ने लक्ष्य लिएको जनाएको छ।

भक्तपुर जिल्लाका नगरपालिकाहरूको प्राप्त अंक:

भक्तपुर नगरपालिका – ६८.३२ अंक

सूर्यविनायक नगरपालिका – ६६.५२ अंक

चाँगुनारायण नगरपालिका – ६२.५९ अंक

मध्यपुर थिमी नगरपालिका – ५०.९२ अंक