चाँगुनारायण, भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रभित्र माटो, बालुवा तथा अन्य निर्माणजन्य सामग्रीको अव्यवस्थित उत्खनन र निकासी नियन्त्रण गर्न कडा नियम लागू गरेको छ। नगर कार्यपालिकाको निर्णयअनुसार अनुमति, कागजात र वातावरणीय मापदण्ड पूरा नगरी उत्खनन गर्न नपाइने व्यवस्था गरिएको हो।
चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रभित्र माटो, बालुवा तथा अन्य निर्माणजन्य सामग्रीको अव्यवस्थित उत्खनन र निकासी नियन्त्रण गर्न नयाँ कार्यविधि समेत लागू गरेको छ।
नगर कार्यपालिकाको बैठकले ‘माटो, बालुवा तथा निर्माणजन्य सामग्री उत्खनन तथा निकासी सम्बन्धी कार्यविधि–२०८२’ स्वीकृत गर्दै कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।
नगरपालिकाका अनुसार नगर क्षेत्रभित्र माटो, बालुवा वा अन्य निर्माणजन्य सामग्री उत्खनन, बिक्री–वितरण वा निकासी गर्न चाहने व्यक्ति, संस्था वा फर्मले सम्बन्धित वडा कार्यालयमार्फत आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ। कार्यविधिमा तोकिएका मापदण्ड पूरा नगरी उत्खनन तथा निकासी गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ।
कार्यविधिअनुसार उत्खननका लागि निवेदन दिनेले जग्गाधनी प्रमाणपत्र, सम्बन्धित जग्गाको नक्सा (ब्लुप्रिन्ट/नापी नक्सा), जग्गाधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जग्गाको तिरो तिरेको रसिद, तथा माटो, बालुवा वा निर्माणजन्य सामग्री उत्खनन गर्दा स्थानीय बासिन्दा तथा वातावरणमा असर नपर्ने प्रतिबद्धता पेश गर्नुपर्नेछ।
दैनिक ५० घनमिटरभन्दा बढी उत्खनन वा ओसारपसार गर्नुपर्ने अवस्थामा प्रचलित कानुनअनुसार वातावरणीय अध्ययन प्रतिवेदन (IEE/EIA) समेत अनिवार्य गरिएको नगरपालिकाले जनाएको छ।
उत्खनन तथा निकासी सम्बन्धी अनुमति वडा कार्यालयमार्फत सिफारिस भई नगरपालिकाबाट प्रदान गरिने व्यवस्था गरिएको छ। वडा कार्यालयले स्थलगत अनुगमन गरी उत्खनन स्थल सुरक्षित छ वा छैन भन्ने यकिन गरेपछि मात्रै सिफारिस गर्नुपर्नेछ।
कार्यविधिमा सार्वजनिक वा निजी जग्गा, भवन, बस्ती, विद्यालय, सडक, पुल, कुलो, नहर, मन्दिर, पोखरी, नदी, वन, कृषि भूमि तथा सार्वजनिक बाटो आसपास उत्खनन गर्दा भू–क्षय, पहिरो वा अन्य जोखिम उत्पन्न हुन नदिने कडाइका साथ व्यवस्था गरिएको छ। साथै खानेपानीका मुहान, स्वास्थ्य संस्था र धार्मिक स्थलबाट निश्चित दूरी कायम गर्नुपर्ने उल्लेख छ।
नगर कार्यपालिकाको निर्णयअनुसार हाललाई दुई दिनसम्म मात्र डोजर चलाउन अनुमति दिइने नगरपालिकाले स्पष्ट पारेको छ। यसले अव्यवस्थित उत्खनन नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नगरपालिकाले कार्यविधि विपरीत उत्खनन, ओसारपसार तथा बिक्री–वितरण गरेमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ। सबै वडा कार्यालय, सरोकारवाला निकाय तथा नागरिकलाई नियमको पालना गर्न नगरपालिकाले आग्रह गरेको छ।




