चाँगुनारायणमा नगर प्रमुखसँग विशेषज्ञ स्वास्थ्य सेवा अभियान: दुवाकोटमा १०६ जनाले गरे स्वास्थ्य परीक्षण


दुवाकाेट, मंसिर, २५ : चाँगुनारायण नगरपालिकाले नगर प्रमुखसँग स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा सञ्चालन गरिरहेको विशेषज्ञ स्वास्थ्य सेवा आज दुवाकोट स्वास्थ्य चौकी–२ मा सफलतापूर्वक सम्पन्न गरेको छ।

यस हेल्थ क्याम्प मार्फत समुदायका महिला तथा पुरुषहरूलाई गर्भवती परीक्षण, प्रोस्टेट परीक्षण, USG/भिडियो एक्स–रे, VIA, Implant, IUCD लगायतका सेवा निःशुल्क प्रदान गरियो।

स्वास्थ्य शिविरमा १४ जना गर्भवती महिलाले निःशुल्क USG (भिडियो एक्स–रे) सहित विशेषज्ञ स्वास्थ्य जाँच पाए।१७ जना पुरुषले प्रोस्टेट परीक्षण तथा निःशुल्क USG सेवा प्राप्त गरे। USG सेवा लिने कुल संख्या — ३१ जना, VIA परीक्षण गराउने — ४५ जना, IUCD सेवा लिने — १ जना गरि कुल १०६ जनाले विभिन्न सेवा प्राप्त गरी कार्यक्रम अत्यन्तै प्रभावकारी बनेको छ।

कार्यक्रममा नगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन कार्कीको नेतृत्वमा स्वास्थ्य टोली खटिएको थियो ।

कार्यक्रममा वडा नं. २ का अध्यक्ष सोम प्रधान तथा नगर स्वास्थ्य शाखाका प्रमुख दिल सुवालले समन्वय गर्नु भएको थियो।

चाँगुनारायण नगरपालिकाले नगर प्रमुखसँग स्वास्थ्य परीक्षण कार्यक्रम मार्फत अझै धेरै समुदायमा पुगेर निःशुल्क स्वास्थ्य सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।