चाँगुनारायणमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस १ गतेदेखि हुने

खरीपाटी :चाँगुनारायण नगरपालिकाले यो वर्षको राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालयस्तरीय बृहत खेलकुद प्रतियोगिता २०८२ आगामी पुष १ गतेदेखि गर्ने भएको छ । नगर खेलकुद विकास समितिका अधिकृत दिपेश कुमार थापाले एक सूचना जारी गर्दै यो वर्षको प्रतियोगिता पुष १ देखि ६ गतेसम्म संचालन हुने जानकारी गराउनु भएको हो । साथै नगरभित्र संचालीत सम्पूर्ण विद्यालयहरुलाई अनीवार्य सहभागिताका लागि आग्रह समेत गरिएको छ ।

एक घर, एक खेलाडी उत्पादन गर्ने लक्ष्य अनुरुप अगाडि बढेको नगरपालिकाले गत वर्षदेखि राष्ट्रपति रनिङ शिल्ड सँगै बृहत्त खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ । हरेक साता निशुल्क रुपमा खेल प्रशिक्षण मार्फत खेलाडी उत्पादन गर्दै आएको नगरपालिकाले गत वर्ष १० वटा खेल विधामा खेल खेलाएको थियो । यो वर्ष सबै विधामा प्रतिस्पर्धा गराइने जनाइएको छ ।

गएको तीन वर्षयता श्रीकृष्ण माध्यमिक विद्यालयले लगातार उपाधि हात पारेको छ। राष्ट्रपति रनिङ शिल्ड निरन्तर तीन वर्ष एउटै विद्यालयले जितेपछि मात्र शिल्ड प्रदान गरिने परम्परा अनुसार यस वर्षका लागि नयाँ शिल्ड निर्माण गरिने समेत जानकारी दिइएको छ। नगरपालिकाले खेलकुदमार्फत विद्यार्थीको शारीरिक, मानसिक तथा नेतृत्व क्षमता विकास गर्न निरन्तर कार्यक्रम अघि बढाउँदै आएको छ।