सि–डिभिजन छनौट प्रतियोगितामा सहभागी हुने भक्तपुर एफसीका खेलाडीलाई जर्सी हस्तान्तरण

भक्तपुर । सि–डिभिजन छनौट प्रतियोगितामा सहभागी हुने भक्तपुरका खेलाडीहरूलाई नगरकोट भ्रमण वर्ष तथा चाँगुनारायण नगरपालिका लोगो अंकित जर्सी अनावरण एवं हस्तान्तरण गरिएको छ।

सिद्धी मेमोरियल भक्तपुर फुटबल क्लबद्वारा बुधबार आयोजित कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले जर्सी अनावरण गर्दै खेलाडीहरूलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।

जर्सी अनावरणपछि नगरप्रमुख खत्रीले क्लबले स्थानीय क्षेत्रमा फुटबल प्रतिभा विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुहुँदै खेलाडीको तत्परता र प्रतिबद्धताले आगामी सि–डिभिजन छनौट प्रतियोगितामा सकारात्मक नतिजा आउने विश्वास व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा जिल्ला खेलकुद समिति भक्तपुरका अध्यक्ष राजु थापा तथा चाँगुनारायण खेलकुद समितिका अध्यक्ष रघु केसीसहित विभिन्न खेलकुद पदाधिकारीहरूको उपस्थित रह्यो। जिल्ला अध्यक्ष थापाले टोलीले आवश्यक सबै प्रशिक्षण चरण पूरा गरिसकेको उल्लेख गर्दै यसपटक सशक्त प्रदर्शनमार्फत सि–डिभिजन प्रवेश गर्ने लक्ष्य सफल हुने विश्वास व्यक्त गर्नुभयो।

क्लबका अनुसार टोली हाल अन्तिम तयारी चरणमा रहेको छ र छनौट प्रतियोगितामा प्रतिस्पर्धात्मक उपस्थिति जनाउने उद्देश्यका साथ अघि बढिरहेको छ।

जर्सी अनावरण कार्यक्रममा खेलाडी, प्रशिक्षक, समर्थक तथा स्थानीय खेलकुद समुदायको उल्लेखनीय सहभागिता रहेको जनाइएको छ।

सि डिभीजनको खेल बिहीबारदेखि सातदोबाटो ललितपुरमा शूरु हुँदैछ । सी डिभिजन लिग छनोटमा कूल ३९ टोली सहभागि छन् । सहभागि टोलीलाई हरेक समूहमा तीन तीन टिम राखेर १३ समूहमा विभाजन गरिएको छ ।