न्यायिक सेवा विस्तारतर्फ चाँगुनारायणको कदम: नयाँ तथा अद्यावधिक मेलमिलापकर्ताले लिए सपथ

खरीपाटी– चाँगुनारायण नगरपालिका अन्तरगतका मेलमिलाप केन्द्रमा कार्यरत मेलमिलापकर्ताहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ। स्थानीय विवाद स्थानीय तहमै समाधान गर्ने उद्देश्यसहित सञ्चालित ४८ घन्टे आधारभूत मेलमिलाप तालिममा सहभागी मेलमिलापकर्ताहरूलाई गरपालिका सभाहलमा सपथ ग्रहण गराइयो।

सपथ उप–प्रमुख तथा न्यायिक समितिका संयोजक रमेश बुढाथोकीले गराउनु भयो। कार्यक्रममा न्यायिक समिति सदस्य सुरेश कार्कीले स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्य प्रस्तुत गर्नुभयो भने सदस्य सञ्जिता ढुंगाना घिमिरेको पनि उपस्थिति रहेको थियो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले मेलमिलापकर्ताहरूलाई न्यायिक प्रशासनमा जोडिनुभएकोमा बधाई दिँदै न्यायिक कार्य रोचक र अनुभव–आधारित हुने उल्लेख गर्नुभयो। कार्यक्रम न्यायिक समितिका कानुन अधिकृत विकास खड्काले सञ्चालन गर्नुभएको थियो।

यस वर्ष तालिम लिएर सूचीकरण भएका २८ जना र अद्यावधिक १५ जना गरी जम्मा ४३ जना मेलमिलापकर्ताले पद तथा गोपनीयताको सपथ लिनुभयो। कार्यक्रमपछि मेलमिलापकर्ता र न्यायिक समितिका पदाधिकारीबीच कार्य अनुभव र समितिले गर्दै आएको कामबारे अन्तरक्रिया पनि सम्पन्न भयो।