अख्तियारमा १७ गाडी र ७४ मोटरसाइकल तोडफोड र आगजनी, भ्रष्टाचारसम्बन्धी फाइलहरू भने सुरक्षित

काठमाडौं — जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीद्वारा निशाना बनाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित प्रधान कार्यालयमा भएको तोडफोड र आगजनीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। तर आयोगमा संकलित साना र ठूला सबै भ्रष्टाचारसम्बन्धी फाइलहरू भने सुरक्षित रहेको पुष्टि भएको छ।

भदौ २४ गते साँझ करिब ५:१५ बजे आन्दोलनकारीले कार्यालय परिसरमा तोडफोड र आगजनी गरेका थिए। उनीहरूको मुख्य लक्ष्य भ्रष्टाचारसम्बन्धी संवेदनशील फाइलहरू रहेको स्थान भए पनि त्यहाँसम्म पुग्न उनीहरू असफल भएका थिए। आयोगका अनुसार केही कागजात र भौतिक संरचना जलेर नष्ट भए पनि सबै महत्वपूर्ण फाइलहरू जोगिएका छन्।

आगोका कारण आयोग परिसरभित्र रहेका ७४ वटा मोटरसाइकल, १७ वटा गाडी (जिप, कार, भ्यान) र ३ वटा बस पूर्णरूपमा जलेर नष्ट भएका छन्। त्यस्तै, आयोगको पुस्तकालय र प्रशासन महाशाखा समेत पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

प्रहरी र आयोगले क्षतिको मूल्यांकन जारी राखेका छन् भने सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।