वायुसेवा निगमले पहिलोपटक चीनको ग्वाङ्जाओ उडान गर्दै, भाडादर एकतर्फी ३० हजार कायम

काठमाडौं: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पहिलो पटक चीनको ग्वाङ्जाओ सहरमा प्रत्यक्ष उडान सञ्चालन गर्न लागेको छ। निगमका प्रवक्ता मनोज साहका अनुसार काठमाडौं–ग्वाङ्जाओ–काठमाडौं मार्गमा सातामा तीन उडान गर्ने गरी नियमित तालिका तयार गरिएको छ। लामो समयको प्रयासपछि यो उडान सुरू गर्न लागेको बताएपछि यात्रुहरूले राष्ट्रिय ध्वजाबाहकलाई प्राथमिकता दिएर सहज यात्रा गर्न सक्नेछन्।

नेपाल एयरलाइन्सले पहिलो उडान असोज ९ गते गर्नेछ भने दोस्रो उडान असोज १२ गते तय गरिएको छ। त्यसपछि असोज ३० र कात्तिक २ तथा ६ गते पनि उडान सञ्चालन गरिने छ। प्रारम्भिक चरणपछि हरेक आइतबार, मंगलबार र शनिबार नियमित उडान हुने तालिका पनि सार्वजनिक गरिएको छ।

निगमले दक्षिण कोरिया र अष्ट्रेलियाका लागि पनि प्रत्यक्ष उडान गर्ने तयारी गरिरहेको भए पनि ती गन्तव्यका लागि अनुमति प्राप्त हुन बाँकी छ। हाल निगमसँग रहेका दुई न्यारोबडी र दुई वाइडबडी विमानमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुबई, हङकङ, भारतका दिल्ली, मुम्बई र बैंगलोर, थाइल्याण्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारिता गन्तव्यमा उडान सञ्चालन हुँदै आएको छ।

ग्वाङ्जाओ उडानको भाडादर एकतर्फी ३० हजार रुपैयाँ र दोहोरो यात्रा ५० हजार रुपैयाँ तोकिएको छ। यस नयाँ मार्गको उद्घाटनले नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडान क्षेत्र विस्तार गर्न ठूलो अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।