मूलपानी, ८ भदौ : भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित बेसी क्षेत्रका बासिन्दाहरू यतिबेला खोलाको कटानले त्रासमा छन्। अबिरल वर्षासँगै उर्लिएको मनोहरा खोलाले बस्ती नजिकैको जमिन बगाउँदा स्थानीयहरू जोखिमको भूमरीमा परेका छन्। यही संवेदनशील घडीमा वडा अध्यक्ष सिजन कार्की खोला नियन्त्रणको अभियानमा जुट्नु भएको छ ।

गत भाद्र ६ गतेको अविरल वर्षापछि आएको बाढीले चाँगुनारायण वडा नम्बर १ अन्तर्गत दुवाकोट क्षेत्रका ४ वटा जस्ताका टहरा बगाइसकेको छ। बन्दै गरेको पुलमा पुग्ने सडक समेत कटानमा परेको छ। खोला दिनप्रतिदिन नजिकिँदै गएपछि स्थानीय बासिन्दा अत्यन्त चिन्तित छन्।

यसै सन्दर्भमा, चाँगुनारायण नगरपालिका–१ र कागेश्वरी मनोहरा नगरपालिका–६ (मुलपानी) को सहकार्यमा खोला अस्थायी रुपमा फर्काउने पहल भइरहेको छ ।

नगर प्रमुख जीवन खत्री, वडा नंं १ का निवर्तमान वडाध्यक्ष राजेश खडका, स्थानीय रोशन कार्कीलगायतको टोलीले स्थलगत निरीक्षण गर्दै तत्काल जोखिम नियन्त्रणको लागि पहल थालीएको हो ।
वडा अध्यक्ष कार्कीले भन्नुभयो, “बस्ती तत्काल जोगाउनु अत्यावश्यक भएकाले अस्थायी रुपमा खोला फर्काउने कार्य भइरहेको छ। तर, यो दीर्घकालीन समाधान होइन।”

उहाँले नगरस्तरीय बैठकमार्फत स्थायी समाधानका लागि मनोहरा करिडोर यथासक्य चाँडो निर्माणको माग गर्ने निर्णय गरिएको छ । खोलाको धार अस्थायी रुपमा मोडिएसँगै जोखिम केही कम भएको स्थानीयहरूको भनाइ छ। तर, स्थायी समाधान नभएसम्म मनोहराको चपेटामा पर्न सक्ने त्रास उनीहरूमा कायमै छ।

