मच्छेनारायणमा हुने विभिन्न धार्मिक कार्यक्रममा सहभागिताका लागि वडाध्यक्ष जयन्द्र खडकाको आह्वान

चाँगुनारायण (छालिङ), साउन २८ : चाँगुनारायण नगरपालिका वडा नं ५, छालिङस्थित गोकुलधाम मच्छेनारायणमा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा भव्य धार्मिक समारोहको आयोजना गरिने भएको छ ।

चाँगुनारायण नगरपालिका वडा नंं ५ र कृष्णवर्तेश्वर महादेव मन्दिर तथा विकास समितिको आयोजना र चाँगुनारायण नगरपालिकाको समन्वयमा बिहीबारदेखि नै विशेष कार्यक्रम हुने भएको हो ।

वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडकाले साउन ३१ गते बिहानदेखि नै नृत्य पुजा, पतिष्ठा हवान गरि दिनको २ बजे नवनिर्मित गीताचार्य श्रीकृष्ण भगवानको विराट स्वरुप श्रीमूर्तिको अनावरण गरिने कार्यक्रम तय भएको जानकारी दिनुभयो । वडाध्यक्ष खडकाका अनुसार श्रीमूर्तिको अनावरण बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रवहादुर बानीयाँले गर्नुहुनेछ।

कार्यक्रममा विशेष अतिथिका रूपमा श्रीश्री १००८ महामण्डलेश्वर सरिता गिरी, भक्तपुर क्षेत्र नं २ का माननीय प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री तथा उपप्रमुख रमेश बुढाथोकीको गरिमामय उपस्थिति रहनेछ।

धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको गोकुलधामलाई भविष्यमा एक महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्ने लक्ष्यसहित यो आयोजनाको तयारी गरिएको हो।

कार्यक्रममा समस्त श्रद्धालु भक्तजन, धर्मप्रेमी नागरिक एवं समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई उपस्थित भई पुण्य लाभ लिनुहुन आमन्त्रण गरिएको छ ।