चाँगुनारायण (वागेहिटी),साउन २७ — नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा वागेहिटीस्थित ऐतिहासिक त्रिलोकेश्वर महादेव मन्दिरमा आयोजना गरिएको महायज्ञमा चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले दुई लाख एक हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
श्रावणी मेलाको समापन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख बुढाथोकीले धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा यस्ता आयोजनाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

तीन तले महादेवका रूपमा प्रसिद्ध त्रिलोकेश्वर महादेव मन्दिरमा साउन ५ गतेदेखि १७ गतेसम्म शिव पुराण ज्ञान महायज्ञ तथा साउन १९ गतेदेखि २६ गतेसम्म नारायण महायज्ञ भव्य रूपमा सम्पन्न भएको थियो।
उक्त धार्मिक आयोजनाले धार्मिक पर्यटकहरूको आकर्षण बढाउनुका साथै नगरकोट भ्रमण वर्ष–२०८२ सफल पार्न सहयोग पुग्ने आयोजक समिति तथा स्थानीयवासीहरूको विश्वास छ।

