चाँगुनारायण (छालिङ), साउन २७ : चाँगुनारायण नगरपालिकाले पेप्सीकोला–तेलकोट सडकको अवस्था बुझ्न र मर्मत कार्य सुरु गर्न स्थलगत अनुगमन गरेको छ। टोलीले चानपा–५ छालिङस्थित इन्द्रेको खोल्छामा गएको पहिरोको अवलोकन गर्दै तत्काल रोकथाम र मर्मत कार्य प्रारम्भ गर्ने निर्णय गरेको हो ।
टोलीमा नगर प्रमुख जीवन खत्री, प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, उपप्रमुख रमेश बुढाथोकी, वडा नं ५ का अध्यक्ष जयन्द्र खड्का, सडक आयोजनाका प्रमुख राजु श्रेष्ठलगायत सहभागि हुनुहुन्थ्यो ।

अनुगमनका क्रममा नगर प्रमुख खत्रीले स्थानीयलाई सहज आवागमन गराउन तत्काल मर्मत कार्य सुरु गर्ने र वर्षा सकिएपछि सडक पक्की निर्माणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले खोल्छामा कल्भर्ट निर्माण गरेर यातायात व्यवस्थित बनाउन सकिने बताउँदै अस्थायी समाधानपछि एक महिनाभित्र दीर्घकालीन बहुवर्षीय आयोजनाअन्तर्गत सडक निर्माण सुरु गरिने जानकारी दिनुभयो।
प्रदेश सांसद सुरेश श्रेष्ठले करिब २४ किलोमिटर सडकका लागि प्रदेश सरकारबाट १० करोडको बजेट विनियोजन भइसकेको र चालू आर्थिक वर्षमा पनि थप रकम छुट्याइएको बताउनुभयो। उहाँका अनुसार यस आयोजनालाई बहुवर्षीय योजनाअन्तर्गत दीर्घकालीन समाधानसहित विस्तार र निर्माण गरिनेछ।

उपप्रमुख रमेश बुढाथोकीले विगत र यस वर्षको वर्षाले सडकमा क्षति पुगेकाले ठूलो बजेटमा स्तरोन्नति गर्ने तयारी भइरहेको बताउनुभयो। उहाँले तत्कालका लागि आपतकालीन मर्मत गरेर आवतजावत सहज बनाइने आश्वासन दिनुभयो।
वडा अध्यक्ष जयन्द्र खड्काले सडक निर्माण ढिलाइका कारण जनगुनासो बढेकाले छिटो काम थाल्न आग्रह गर्नुभयो। सडक आयोजनाका प्रमुख राजु श्रेष्ठले आवश्यक स्रोत जुटाएर तत्काल काम सुरु गर्ने प्रतिबद्धता जनाउनुभयो।

