भक्तपुर (ताथली), साउन २४ : पारम्परिक सीप, सांस्कृतिक ज्ञान र स्थानीय दक्षताको संरक्षण तथा पुस्तान्तरण गर्दै आत्मनिर्भर समुदाय निर्माण गर्ने दिशामा चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ताथलीमा सञ्चालन गरिएको सीपमूलक प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

सहारा परियोजना अन्तर्गत वडा नं ९ ताथलीमा सञ्चालन गरिएको तीन दिने यस कार्यक्रममा विपन्न, आर्थिक रूपमा कमजोर, र सामाजिक रूपमा सीमान्तकृत वर्गका सदस्यहरूलाई लक्षित गरिँदै पारम्परिक र आधुनिक दुवै खालका सीपहरू प्रदान गरिएको हो। सहभागीहरूले चकटी, छ्वालीको सुकुल र परालको डोरी बनाउने व्यावहारिक सीपहरू सिकेका छन् – जसले उनीहरूलाई भविष्यमा आत्मनिर्भर बन्न थप मद्दत गर्ने विश्वास गरिएको छ।

कार्यक्रमको समापन वडाध्यक्ष गणेश त्यातले गर्नु भयो। उहाँले अहिलेको पुस्ता मौलिक सीप र संस्कृतिबाट विमुख हुँदै गएको अवस्थामा यस्ता कार्यक्रमहरूले समाजको मौलिकता जोगाउन निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डे यस्ता कार्यक्रमले समुदायलाई दीर्घकालीन रुपमा आत्मनिर्भर बनाउने आधार निर्माण गने बताउनुभयो ।

कार्यक्रम वडा नं ९ जेष्ठ नागरिक मिलन चौतारी ताथलीको समन्वयमा गरिएको हो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति पाण्डेसहित चाँगुनारायण नगरपालिका कार्यपालिका सदस्य कमला भारती, मन्त्री धर्मराज कार्की, सहारा परियोजना संयोजक उमा थापा, तथा चाँगुनारायण नगरपालिकाका विपद् विज्ञ एवं सहारा परियोजना संयोजक दिनेश थापाको उपस्थिति रहेको थियो।







