भक्तपुर, (ताथली)साउन २३ – चाँगुनारायण नगरपालिकाले ताथलीलाई भौतिक पूर्वाधारदेखि सांस्कृतिक संरक्षणसम्मका क्षेत्रमा उल्लेखनीय प्रगति गराउँदै आएको छ। नगरप्रमुख जीवन खत्रीका अनुसार ताथलीको ऐतिहासिक र सांस्कृतिक महत्वका कारण यसलाई नगरको विशेष प्राथमिकतामा राखिएको हो।
यसैबीच, नेपाल मजदुर किसान पार्टी ताथली समितिले शुक्रबार नगरप्रमुख खत्रीलाई ज्ञापनपत्र बुझाउँदै विशेषगरी ताथली–नाला सडकखण्ड अन्तर्गत रामसीता मन्दिर क्षेत्रको तत्काल स्तरोन्नति तथा मर्मत गर्न माग गरेको छ।
नगरपालिकाका जनप्रतिनिधिहरूका अनुसार सो सडकखण्ड विगतदेखि नै नगरको प्राथमिकतामा रहँदै आएको छ। नगरपालिकाका अनुसार गत आर्थिक वर्षमा २० लाख रुपैयाँ छुट्याएर उपभोक्ता समितिमार्फत स्तरोन्नतिको काम सुरु गरिएको थियो, जुन असार मसान्तभित्र पूरा हुन नसके पछि चालु वर्षमा पनि बजेट राखिएको छ भने चाँडै प्रक्रिया अगाडि बढाएर निर्माण कार्य सम्पन्न गर्ने योजना छ । अहिले यो विषयमा स्थानीय युवाहरुले हस्ताक्षर अभियान चलाएर सडक चाँडो भन्दा चाँडो निर्माण गर्न दबाब दिइरहेका छन् । सो विषयलाई सम्बोधन हुने गरि चाँडै निर्माण कार्य शूरु गर्ने प्रतिबद्धता नगरपालिकाले गरेको छ ।
नगरपालिकाले ताथलीमा भौतिक पूर्वाधारसँगै स्थानीय कला–संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, खानेपानी तथा खेलकुद क्षेत्रमा समेत उल्लेखनीय कार्य गरिरहेको छ। पर्यटन प्रवर्द्धनका लागि पहिलो पटक बागमती प्रदेश स्तरीय धिमेबाजा प्रतियोगिता आयोजना गरिएको थियो। साथै, नगरकोट भ्रमण वर्षको अवसरमा दक्षिणकाली युवा समूहसँग सहकार्य गर्दै वृहत साइकल र्यालीमार्फत ऐतिहासिक सम्पदाको प्रचार–प्रसार गरिएको थियो। केहि समय अघि मात्र नगरपालिकाकै पहलमा ताथलीमै पहिलो पटक राष्टिय कोदो दिवस समेत मनाइएको थियो ।
नगरप्रमुख खत्रीका अनुसार वडा सिलिङ बाहेक पनि नगरपालिकाले नगर सभा तथा कार्यपालिका बैठकमार्फत ताथलीका परियोजनामा विशेष प्राथमिकता दिइएको छ। “जनताको साथ र सहयोगकै आधारमा विकास सम्भव हुन्छ,” उहाँले भन्नुभयो, “ज्ञापनपत्रमार्फत उठाइएका मागलाई सम्बोधन गर्दै ताथलीको विकासलाई अझ तीव्र गतिमा अघि बढाइनेछ।”

