चाँगुनारायण (भक्तपुर), साउन २१ – चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित शहरी स्वास्थ्य केन्द्रमा औपचारिक रूपमा ल्याब सेवा सञ्चालनमा आएको छ। नगर प्रमुख जीवन खत्रीले बुधबार आयोजित एक कार्यक्रमबीच ल्याब सेवाको औपचारिक रुपमा उद्घाटन गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख खत्रीले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले नगरपालिकाले हरेक वडाका शहरी स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीलाई नगर अस्पतालसँग जोडेर सेवा विस्तार गरिरहेको जानकारी दिनुभयो। उहाँले वडा नंं १ बाहेक अन्य सबै वडामा ल्याब सेवा सुरु भइसकेको र छिट्टै वडा नंं १ मा पनि सेवा सुरु गरिने बताउनुभयो।

उहाँले स्वास्थ्य सेवालाई गुणस्तरीय, सर्वसुलभ र प्रभावकारी बनाउन नगरपालिकाले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै ल्याब सेवा सञ्चालनसँगै झौखेल क्षेत्रका बासिन्दालाई रोग पहिचान तथा उपचारमा सजिलो हुने बताउनुभयो ।

उहाँले पछिल्लो समय क्यान्सर, मिर्गौला रोग, उच्च रक्तचापजस्ता नसर्ने रोगहरू महामारीझैं फैलिएको उल्लेख गर्दै यस्तो भयावह अवस्था रोक्न रोगको मुहान नै बन्द गर्नु जरुरी रहेको बताउनुभयो। विषादीयुक्त तरकारी, असन्तुलित जीवनशैली, र अस्वस्थ आहार प्रणाली यसका प्रमुख कारण रहेको भन्दै उहाँले कृषि र स्वास्थ्य क्षेत्रलाई एकआपसमा जोडेर समाधान खोजिनु पर्नेमा जोड दिनुभयो।

नगर प्रमुख खत्रीले नगरवासीलाई स्वस्थ राख्न नगरपालिकाले निरन्तर सचेतना कार्यक्रम, व्यायामशाला स्थापना, योग तथा ध्यान कक्षा, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहजस्ता कार्यक्रममार्फत सक्रिय रहेको जानकारी दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले चाँगुनारायण नगरपालिकाले स्वास्थ्य सेवाको पहुँच सबै वडामा पुर्याउने योजनाअन्तर्गत ल्याब सेवा सुरु गरिएको स्पष्ट पार्नुभयो ।

वडा नंं ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा अब नागरिकको घरदैलोमा नै उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले विकास भौतिक पूर्वाधारमै सीमित नरही स्वास्थ्य र जनसेवामा आधारित विकासको दृष्टिकोण आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा जनप्रतिनिधिसहित चाँगुनारायण नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन बहादुर कार्की, नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिल कुमार दुवाल, विपद् ब्यवस्थापन शाखा प्रमुख दिनेश थापा, जनस्वास्थ्य अधिकृत बलराम तिमिल्सिनासहित स्वास्थ्य शाखाका प्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

झौखेल स्वास्थ्य चौकी प्रमुख मञ्जु श्रेष्ठका अनुसार नयाँ ल्याब सेवाबाट रक्त परीक्षण, पिसाब परीक्षण, सुगर, मिर्गौला सम्बन्धी जाँच लगायत आधारभूत ल्याब परीक्षणहरू सञ्चालनमा ल्याइनेछ । साथै, ल्याब सेवा संचालनसँगै शहरी स्वास्थ्य केन्द्रको सेवा दायरा थप फराकिलो बनेको छ।








