वागेहिटी : नगरकोट भ्रमण वर्ष–२०८२ को अवसर पारेर वागेहिटी संरक्षण समितिद्वारा यही साउन ५ गतेदेखि वागेहिटीस्थित त्रिलोकेश्वर महादेवमा लाग्ने श्रावणी मेलाको सम्पूर्ण तयारी पुरा भएको छ ।
साउन ५ गतेदेखि २६ गतेसम्म आयोजना हुने मेलालाई सफल पार्न र नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिका क्षेत्रभित्र धार्मिक पर्यटकीय क्षेत्रको पहिचान एवं प्रचार गर्ने उदेश्यसहित आयोजना गर्न लागेको साउनी मेलामा सहभागि हुन चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आव्हान गर्नुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो चाँगुनारायण नगरपालिका क्षेत्र पर्यटकीय दृष्टिकोणले प्राकृतिक रुपमा सुन्दर मात्रै नभई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत अदभूत क्षेत्र रहेको नगरपालिका हो । यहाँको रत्नागिरी पर्वत, वडा नं। १ देखि ९ सम्मका धार्मिक एवं ऐतिहासिक क्षेत्रहरु, मठ मन्दिर र शिवालयहरु अद्भुत रहेको छ । भ्रमण वर्षले यस्ता मठ, मन्दिर र सम्पदाको प्रचारमा टेवा दिनेछ । साउन महिनामा प्रत्येक वडामा रहेका शिवालयहरुमा लाग्ने मेलाको वडागत रुपमा प्रचार गर्न र सहभागि हुन नगरवासीमा आग्रह पनि गर्दछु ।”
नगरपालिकाले नगर भित्रका ऐतिहआसिक, धार्मिक क्षेत्र, मठ, मन्दिरको प्रचारप्रसार, संरक्षण र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताउँदै नगर प्रमुख खत्रीले यसमा सबै नगरवासीले सकारात्मक र सहयोगात्मक भूमिका निर्वाह गर्नु पर्ने बताउनुभयो ।

तीन तले महादेवको नाममा प्रसिद्ध कमाएको त्रिलोकेश्वर महादेव मन्दिरमा श्रावणी मेलासंगै साउन ५ गतेदेखि १७ गतेसम्म शिव पुराण ज्ञान महायज्ञको आयोजना हुने उक्त महायज्ञमा विदुषी वाचिका यशोधा देवीबाट कथा प्रवचन हुने भएको समितिका रमेश अधिकारीले जानकारी दिनुभयो । त्यस्तै साउन १९ गतेदेखि २६ गतेसम्म नारायण महायज्ञको आयोजना हुने उहाँले जानकारी दिनुभयो ।
उहाँले श्रावणी मेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै धार्मिक पर्यटनको विकास एवं प्रचारप्रसारका लागि आयोजना गरिएको मेलामा भेटी तथा दानसमेत संकलन गरिने जानकारी दिनुभयो । साउन ५ गते कलश यात्रा गरि मेलाको सुरुवात गरिने भएकाले कलश यात्रामा समेत सहभागि हुन उहाँले आव्हन गर्नुभयो ।

