चाँगुनारायण नगरपालिकाद्धारा आगामी आर्थिक वर्षको लागि १ अर्ब ८४ करोडको बजेट सार्वजनीक, सडक पूर्वाधारलाई विशेष प्राथमिकता

खरीपाटी : चाँगुनारायण नगरसभाको १७ औं अधिवेशनको पहिलो बैठकमा नीति तथा कार्यक्रम र बजेट सार्वजनीक गरिएको छ । बैठकमा नगर प्रमुख तथा सभाध्यक्ष जीवन खत्रीले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र उपप्रमुख रमेश बुढाथोकीले बजेट बतब्य प्रस्तुत गर्नुभयो ।

नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब ८४ करोड ५६ लाख २० हजार ४ सय ९३ रुपैयाँको बजेट सार्वजनीक गरेको छ । जसमा ठूलो रकम सडक पूर्वाधार तर्फ विनियोजन गरिएको छ ।

बजेटमा सबै वडा कार्यालयबाट नगरपालिका जोड्ने सडक कालेपत्रे गर्ने नीति तथा कार्यक्रमलाई सार्थकता दिन १६ औं अधिवेशनले बहुवर्षीय ठेक्का आह्वान गरेका योजना सम्पन्न गर्न २८ करोड ३८ लाख १३ हजार विनियोजन गरिएको हो ।

वडा कार्यालयको सेवा प्रवाह र विकास ब्यवस्थापनका लागि वडा कार्यालयबाटै विनियोजन हुने गरि प्रत्येक वडा कार्यालयलाई २ करोडको दरले ९ वटा वडा कार्यालयको लागि १८ करोड छुट्याइएको छ ।

संघीय र प्रदेश सरकारसँगको समन्वयनमा समपुरक योजना संचालन गर्न ९ करोड ५८ लाख, संघीय र प्रदेश सरकारसँगको समन्वयनमा सशर्तमा संघीय सरकारबाट ४७ करोड ९८ लाख, प्रदेश सरकारबाट ३ करोड ४३ लाख ६३ हजार विनियोजन गरिएको छ ।

नगरबासीको खानेपानीको सुविधामा थप पहुँच बढाउन काठमाडौं उपत्यका खानेपानी विकास लिमिटेडसँग सम्झौता भएबमोजीम खानेपानी योजना संचालन गर्नका लागि २ करोड बजेट छुट्याइएको छ ।

त्यस्तै, नगरपालिकाको खेलकुद विकासका लागि स्पोर्टस एकेडेमी हल निर्माण गर्न २ करोड, श्रीकृष्ण बहुमुखी क्याम्पस, प्राविधिक विद्यालय तथा विद्यालयको भौतीक तथा शैक्षीक विकास लागि १ करोड बजेट विनियोजन गरिएको छ ।

वडा नंं ५ स्थित दोवान हुँदै सिमल डाँडा जाने सडक निर्माणको लागि १ करोड, वडा नंं ६ को बर्सपार्कबाट पसल डाँडा जाने सडकको लागि १ करोड बजेट र विपद ब्यवस्थापन कोषमा १ करोड विनियोजन गरिएको छ । उद्यमशीलता कार्यक्रमको लागि ५ करोड बजेट छुट्याइएको छ ।

त्यस्तैगरि, नगरपालिका र सो अन्तर्गतका कार्यालयबाट सेवा प्रवाह र विकास ब्यवस्थापन तथा प्रशासनीक खर्च ब्यवस्थापनका लागि ३६ करोड ९९ लाख बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३० करोड ५५ लाख १० हजार आन्तरिक आय र नगरपालिकाको सञ्चित कोषको मौज्जाद रकम ४ करोड अनुमान गरिएको छ ।

पहिलो बैठकमा विभिन्न विषयगत समितिका प्रतिवेदन र केहि ऐनहरु समेत प्रस्तुत गरिएको थियो । नगर सभा सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले सभा सञ्चालन गर्नु भएको थियो । पहिलो बैठकले नगर प्रमुख खत्रीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ ।

अधिवेशनको दोस्रो बैठक आगामी २८ गते बस्ने तय भएको छ ।