नगरकोट भ्रमण वर्षको अवसरमा चाँगुनारायणमा जिल्लास्तरीय खुला एकल नृत्य प्रतियोगिता : विजेतालाई एक लाख राशीको पुरस्कार

हेल्मेटडाँडा : नगरकोट भ्रमण वर्ष २०८२ का अवसरमा चाँगुनारायण नगरपालिकामा भक्तपुर जिल्लास्तरीय खुला एकल नृत्य प्रतियोगिता सुरू भएको छ ।

प्रतियोगिताको बिहीबार बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो।

प्रदेशसभा सदस्य श्रेष्ठले चाँगुनारायणको कला, सम्पदा, पर्व र पर्यटकीय क्षेत्रको प्रचार गर्दै विश्वका पर्यटकको गन्तव्य चाँगुनारायण बनाउने गरी भ्रमण वर्ष सफल पार्नुपर्ने बताउनुभयो ।

नगर प्रमुख श्रेष्ठले समग्र नगरपालिकाको पर्यटन गर्दै आर्थिक समृद्धि गर्ने उद्देश्यले भ्रमण वर्ष आयोजना गरिएको र भ्रमण वर्षका कार्यक्रमहरु उत्साहजनक रुपमा अगाडि बढिरहेको बताउनुभयो ।

प्रतियोगितामा जिल्लाभरिबाट एक सय १९ जना प्रतिस्पर्धीको सहभागिता रहेको छ । बिहीबार पहिलो दिन चाँगुनारायण नगरपालिकाको, आज दोस्रो दिन मध्यपरथिमिको, तेस्रो दिन सूर्यविनायक र चौथो दिन ४ गते भक्तपुर नगरपालिका क्षेत्रबाट आएका प्रतिस्पर्धीको नृत्य प्रस्तुत गरिने छ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख, दोस्रो हुनेलाई नगद रु ५० हजार, तेस्रो हुनेलाई नगद रु २५ हजार र सान्त्वना हुने चार जनालाई जनही नगद रु १० हजारसहित सबैलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

कार्यक्रममा वरिष्ठ कलाकार एवं नाट्यकर्मी मदनदास श्रेष्ठलाई नगरप्रमुख खत्रीले दोसल्ला ओढाएर र प्रदेशसभा सदस्य श्रेष्ठले ताम्रपत्र प्रदान गरेर सम्मान गर्नुभयो ।

कार्यक्रममा सम्मानित कलाकार श्रेष्ठ, अर्का कलाकार एवं नाट्यकर्मी प्रभाकर शर्मालगायतले भ्रमण वर्ष सफल पार्दै नगरकोटलाई पर्यटकीय केन्द्र बनाउन कलाकार पनि लाग्नुपर्ने बताउनुभयो।