नगरकोट भ्रमण वर्ष- २०८२ को तयारी अन्तिम चरणमा, बैशाख १ गते राष्ट्रपति पौडेलले उद्घाटन गर्ने, २ र ३ गते बृहत्त साँस्कृतिक कार्यक्रम

नगरकोट : चाँगुनारायण नगरपालिकासहित काभ्रेका मण्डन देउपर, बनेपा र काठामाडौंको शंखरापुर नगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको नगरकोट भ्रमण वर्ष-२०८२ को तयारी तीब्र बनाइएको छ । भ्रमण वर्ष नजिकिंदै गर्दा आवश्यक तयारी तीब्र बनाइएको हो ।

भ्रमण वर्षको तयारीस्वस्प विभिन्न सरोकारवाला निकायहरुसँग छुट्टा छुट्टै छलफल तथा अन्तक्रिया गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ । साथै चारै नगरपालिकास्तरीय छलफल समेत सम्पन्न भइसकेको जनाइएको छ ।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नगरकोट भ्रमण वर्षको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । भ्रमण वर्षको तयारीस्वस्प नै प्रचार प्रसार देखि उद्घाटन हुने कार्यक्रम स्थलको तयारी तथा अन्य आवश्यक सम्पूर्ण तयारी लगभग अन्तिम चरणमा पुगेको मेयर खत्रीको भनाई छ ।

बैशाख १ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ भने २ र ३ गते बृहत्त साँस्कृतिक कार्यक्रम गरिनेछ ।

विशेष गरि २०८२ सालभरि विविध कार्यक्रम गरि मनाइने भ्रमण वर्षको मुख्य लक्ष्य नगरकोटको पर्यटन प्रबद्र्धन गरि नगरको समृद्धिमा टेवा पुर्याउनु रहेको छ ।

नगरपालिकामा मेयर खत्री नेतृत्वको नयाँ जनप्रतिनिधि निर्वाचीत भएर आएपछि बसेको पहिलो कार्यपालिका बैठकबाट नगरकोट भ्रमण वर्ष २०८२ मनाउने निर्णय भएको थियो ।

सो निर्णय बमोजीम नै नगरपालिकाले भ्रमण वर्षको तयारी थालेको थियो । भ्रमण वर्षको अन्तिम तयारीमा जुटिरहँदा मण्डल देउपुर, बनेपा र शंखरापुर नगरपालिकाले पनि सहकार्य गर्न तयार भएपछि संयुक्त रुपमा मनाउन लागिएको हो ।

सोही तयारी अनुरुप लामो समयदेखि अलपत्र कमलविनायक नगरकोट सडक खण्डको बाटो निर्माणका लागि १७ करोड बजेट विनियोजन गरि ठेक्का आह्रवान गरि प्रक्रिया अगाडि बढाइरहेको छ ।

नगरकोट सडक आगामी असार मसान्तसम्म निर्माण भइसक्नेछ । भ्रमण वर्षको उद्घाटन कार्यक्रमलाई असर नगर्ने गरि तत्कालका लागि खाल्डाखुल्डी टाल्ने कार्य पनि भइरहेको छ ।

त्यस्तै, नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ सफल बनाउन सचिवालय निर्माण गरि सचिवालयमार्फत आफ्ना कार्य गरिहेको छ । विशेष गरि पशुपति विकास कोषका पूर्व कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई भ्रमण वर्षको लागि फोकल पर्सन तथा विज्ञको रुपमा नियुक्त गरि आवश्यक कार्य भइरहेको हो ।

डा. खतिवडाले आफूले जिम्मेवारी समालेपछि विभिन्न तह तप्का तथा सरोकारवालाहरु छलफल गरेर तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।