खरिपाटी: भक्तपुर जिल्लामै पहिलोपटक खानेपानी गुणस्तर मिनी ल्याब सुरु गरेको चाँगुनारायण नगरपालिकाले खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण गरेको छ ।
नगरपालिकाले सामुदायिक विद्यालयहरु, नगर अस्पताल र सरकारी स्वास्थ्य संस्थाहरु, नगरपालिका अन्तर्गतको वडा कार्यालय र अन्य मातहतका कार्यालयहरु र विपन्न नागरिकका लागि खानेपानी परीक्षण निशुल्क गरिएको छ । त्यस बाहेकका क्षेत्रका लागि भने शुल्क निर्धारण गरिएको हो ।
खानेपानी, सरसफाइ तथा स्वच्छता शाखा प्रमुख सुरेन्द्र लामिछानेले नगरपालिकाले खानेपानी गुणस्तर अनुगमन तथा गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन कार्यबिधि २०८१ स्वीकृत गरी शुल्क निर्धारण गरिएको जानकारी दिनुभयो ।
नगरपालिकाका अनुसार संस्थागत विद्यालय तथा मन्टेश्वरीका लागि प्रतिपटक रु ६५०, संस्थागत अस्पताल र स्वास्थ्य संस्था तथा अन्य संघसंस्थाहरु, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु, होटल, जार तथा बोतलको पानी उत्पादन गर्ने कम्पनी तथा अन्य कम्पनीहरु, नगरपालिका क्षेत्र बाहिरका घरधुरीहरुका लागि प्रतिपटक एक हजार २५० रुपैयाँ निर्धारण गरिएको छ ।
चाँगुनारायण नगरपालिकाको प्रमुख प्रशासकीय भवनमा सुरु गरिएको प्रयोगशालामा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ मा उल्लेखित २७ वटा मध्ये धमिलोपन, हाइड्रोजन विभव, विद्युतीय संवाहकता, फलाम, क्लोराइड, अमोनिया, नाइट्रेट, सल्फेट, आर्सेनिक, क्लोरिन अवशेष, कुल कडापन, इकोली, कुल कोलिफम जस्ता आधारभूत पारामितिहरु परिक्षण गर्न सकिनेछ ।
भक्तपुर जिल्लामा रहेको नगरपालिकाहरुमध्ये चाँगुनारायण नगरपालिका खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला संचालनमा ल्याउने पहिलो नगरपालिका हो भने काठमाण्डौं उपत्यकाको तेस्रो नगरपालिका हो । यस अघि गोदावरी र महालक्ष्मी नगरपालिकाले खानेपानी गुणस्तर परीक्षण ल्याब संचालनमा ल्याई सकेका छन् ।

