भक्तपुर । चाँगुनारायण नगरपालिकाद्वारा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिएको ५ दिने उद्यमशीलता तालिम सम्पन्न भएको छ।

तालिम सहजकर्ता/प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएका प्रशिक्षकले यो अवसर गर्व र सिकाइपूर्ण अनुभव भएको बताउँदै चाँगुनारायण नगरपालिकाप्रति आभार व्यक्त गर्नुभएको छ।

तालिममार्फत सहभागीहरूले आफ्ना अनुभव, सीप र सम्भावनालाई स्थानीय स्तरमै उद्यम तथा आत्मनिर्भरतासँग जोड्ने अवसर प्राप्त गरेका छन्।

उद्यमशील सोच, व्यवसायिक योजना, अवसर पहिचान र आत्मविश्वास विकाससम्बन्धी विषयमा भएको छलफलले सहभागीहरूलाई थप प्रेरणा मिलेको बताइएको छ।

कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरूको सीप र अनुभवलाई स्थानीय उत्पादन तथा रोजगारी सिर्जनामा उपयोग गर्न नगरपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो।

उहाँले उद्यमशीलता विकासमार्फत आत्मनिर्भर समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। तालिमले स्थानीय आर्थिक विकास र दिगो रोजगारी सिर्जनामा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।



