भक्तपुर, २३ चैत : भक्तपुर क्षेत्र नम्बर १ मा करिब तीन दशकभन्दा बढी समयदेखि कायम रहेको नेमकिपाको वर्चस्व तोड्दै निर्वाचित भएका सांसद रुकेश रन्जित यतिबेला जनअपेक्षाको केन्द्रमा हुनुहुन्छ । लामो समयपछि आएको राजनीतिक परिवर्तनसँगै क्षेत्रवासीमा विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहप्रति उच्च अपेक्षा देखिएको छ।
यसै सन्दर्भमा सांसद रन्जितले चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीसँग भेटघाट गर्दै नगरका विभिन्न विकास निर्माणका काम, योजना तथा जनताका आवश्यकता र मागका विषयमा विस्तृत छलफल भएको सचिवालय सदस्य राेशन थापाले बताउनुभयो ।

भेटका क्रममा नगरभित्र सञ्चालन भइरहेका आयोजनाहरूको प्रगति, आगामी योजनाको प्राथमिकता तथा स्रोत व्यवस्थापनका विषयमा गहन रूपमा विचार–विमर्श भएको जानकारी दिनुभयो।

सांसद रन्जितले क्षेत्रवासीले आफूमाथि राखेको विश्वास र अपेक्षा निकै ठूलो रहेको बताउँदै ती आशालाई व्यवहारमै उतार्ने आफ्नो दृढ प्रतिबद्धता रहेको दोहोर्याउनुभयो ।

विकास निर्माणका कामलाई परिणाममुखी बनाउँदै जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका आवश्यकताहरूलाई प्राथमिकतामा राखेर अघि बढ्ने उहाँले बताउनुभयो ।

त्यसैगरी, स्थानीय तहसँगको समन्वय र सहकार्यलाई अझ मजबुत बनाउँदै संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी तालमेलमार्फत विकासलाई तीव्रता दिने आवश्यकता औंल्याउनुभयो।
जनताबाट आएका गुनासा, सुझाव र मागहरूलाई गम्भीरतापूर्वक लिँदै समाधानतर्फ उन्मुख हुने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

नगरप्रमुख खत्री र उपप्रमुख बुढाथोकीले समेत नगरका प्राथमिकता, चुनौती र आवश्यकताबारे स्पष्ट जानकारी गराउँदै समन्वयात्मक ढंगले अघि बढ्न तयार रहेको बताउनुभयो। विकासका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तहबीच सहकार्य अपरिहार्य रहेकोमा उहाँहरूले जोड दिनुभयो।

समग्रमा भेटघाटले भक्तपुर क्षेत्र नम्बर १ मा विकास निर्माणका कामलाई थप गति दिने र जनअपेक्षालाई सम्बोधन गर्ने दिशामा सकारात्मक सन्देश दिएको सरोकारवालाहरूले बताएका छन्।

