ताथली : चाँगुनारायण नगरपालिकाले सञ्चालन गर्दै आएको ‘नगर प्रमुखसँग विशेषज्ञ स्वास्थ्य सेवा अभियान’ अन्तर्गत नगर क्षेत्रभित्रका विभिन्न स्वास्थ्य संस्थामा विशेषज्ञ स्वास्थ्य सेवा सफलतापूर्वक सञ्चालन हुँदै आएको छ।

अभियानअन्तर्गत ताथली स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सकहरूको उपस्थितिमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा गर्भवती जाँच, प्रोस्टेट जाँच, निःशुल्क भिडियो एक्स–रे, भिआइए परीक्षण, इम्प्लान्ट, आइयुसिडी तथा रिङ पेसेरी राख्ने लगायतका सेवाहरू प्रदान गरिएको थियो।
शिविरमा जम्मा १५० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्।

कार्यक्रममा वडा अध्यक्ष गणेश त्यातले सम्बोधन गर्दै नसर्ने रोगहरू दिनानुदिन गम्भीर बन्दै गएको उल्लेख गर्नुभयो। उहाँले समयमै स्वास्थ्य परीक्षण र जनचेतनाको आवश्यकता औँल्याउनुभयो।

कार्यक्रम नगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन कार्कीको नेतृत्वमा स्वास्थ्यकर्मी टोलीद्वारा सञ्चालन गरिएको थियो।



