चाँगु खोरीया, १६ पौष : चाँगुनारायण नगरपालिकालाई क्षयरोगमुक्त नगरपालिका घोषणा गर्ने लक्ष्यसहित सञ्चालन भइरहेको अभियान अन्तर्गत नगरपालिकाका सबै वडामा चरणबद्ध रूपमा स्वास्थ्य परीक्षण तथा क्षयरोग स्क्रिनिङ कार्यक्रम निरन्तर रूपमा सञ्चालन भइरहेको छ।

यसै अभियानको क्रममा आज चाँगुनारायण नगरपालिका–४, चाँगु खोरियामा निःशुल्क एक्स–रेसहितको छाती रोगसम्बन्धी स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। शिविरमा ९१ जनाको छातीको एक्स–रे परीक्षण गरिएको छ भने १५ जनाको विस्तृत स्वास्थ्य परीक्षण सम्पन्न गरिएको छ।

नगरपालिकाले वडास्तरमै पुगेर प्रारम्भिक चरणमै क्षयरोगको पहिचान, समयमै उपचार तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित यस्तो अभियान सञ्चालन गर्दै आएको छ।
वडावडामा अभियान निरन्तर जारी रहने र शंकास्पद लक्षण देखिएका व्यक्तिलाई आवश्यक उपचार सेवामा जोड्ने नगरपालिकाको लक्ष्य रहेको छ।

यस अभियानले स्थानीय तहबाटै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै क्षयरोग नियन्त्रण र उन्मूलनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।


