राष्ट्रपति रनिङ शिल्डका सबै खेल सम्पन्न, २ हजार बढी विद्यार्थी सहभागी

खरीपाटी, ५ पौष : चाँगुनारायण नगरपालिकाको आयोजनामा भएको चौथो राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयस्तरीय बृहत खेलकुद प्रतियोगिता अन्तर्गतका सबै खेलहरू सम्पन्न भएका छन्।

प्रतियोगितामा कबड्डी, भलिबल, कराते, उसु, तेक्वान्दो, एथलेटिक्स, क्रिकेट, ब्याडमिन्टन र फुटसल लगायतका खेलहरू समावेश थिए। ३५ विद्यालयका २ हजार ६० भन्दा बढी विद्यार्थी खेलाडी सहभागी प्रतियोगितामा छात्र तथा छात्रा दुवै समूहको उत्साहजनक सहभागिता देखिएको थियो।

गत १ पौषमा सुरु भएको प्रतियोगिताको अन्तिम नतिजा तथा विजयी विद्यालय र खेलाडीहरूको घोषणा आइतबार समापन समारोहमार्फत गरिनेछ। समापन तथा पुरस्कार वितरण कार्यक्रम भोलि बिहान ११ बजे चाँगुनारायण नगरपालिका परिसरमा आयोजना हुँदैछ।

पछिल्ला तीन वर्ष लगातार श्रीकृष्ण माध्यमिक विद्यालयले राष्ट्रपति रनिङ शिल्ड जितेकाले यस वर्ष नयाँ रनिङ शिल्ड प्रयोग गरिएको आयोजकले जनाएको छ।