चाँगुनारायण नगर अस्पतालले मनायो पाँचौँ वार्षिकोत्सव

चाँगुनारायण, पौष १ : चाँगुनारायण नगर अस्पतालले पाँचौँ वार्षिकोत्सव मनाएको छ। कार्यक्रमको औपचारिक उद्घाटन नगर उपप्रमुख रमेश बुढाथोकीले गर्नुभयो ।

उद्घाटन समारोहमा बोल्दै उपप्रमुख बुढाथोकीले चाँगुनारायण अस्पतालले स्थानीय नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले अस्पतालमा उपलब्ध आधुनिक सुविधा र सेवाले नागरिकको विश्वास बढेको बताउँदै आगामी दिनमा सेवा थप विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

२०७७ मंसिर २८ गते स्थापना भएको अस्पतालमा हाल २४ सै घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, प्रसूति तथा मातृशिशु स्वास्थ्य सेवा, ल्याब परीक्षण, एक्स–रे तथा रेडियोलोजी सेवा, फार्मेसी, खोप तथा नियमित स्वास्थ्य जाँच, स्वास्थ्य बीमा मार्फत उपचार सेवा लगायतका सुविधा उपलब्ध छन्। साथै दक्ष चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीमार्फत सेवा प्रदान हुँदै आएको अस्पताल प्रशासनले जनाएको छ।

कार्यक्रममा अस्पताल स्थापना देखि योगदान पुर्‍याउनु भएका अग्रज व्यक्तित्वहरूको निःस्वार्थ परिश्रम र समर्पणलाई स्मरण गर्दै सम्मान गरिएको थियो।

वार्षिकोत्सव कार्यक्रममा नगर उपप्रमुख बुढाथोकी, सामाजिक विकास समिति संयोजक तथा वडाध्यक्ष जनक खत्री, मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन कार्की, कार्यपालिका सदस्य कमला गिरी भारती, स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवाल तथा अस्पताल प्रशासन प्रमुख आशा माझी लगायत कर्मचारी र चिकित्सकहरुको उपस्थिति रहेको थियो।

सोही अवसरमा अस्पतालको वार्षिक बुलेटिन दोस्रो अंक समेत सार्बजनिक गरिएको थियो ।

कार्यक्रमले चाँगुनारायण अस्पतालको सेवा विस्तार, गुणस्तर अभिवृद्धि र नागरिकमैत्री स्वास्थ्य सेवामा थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।