चाँगुनारायणमा राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता भोलि पुस १ गतेबाट हुँदै

चाँगुनारायणमा पुष १ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयस्तरीय बृहत खेलकुद प्रतियोगिता हुँदैछ। “एक घर, एक खेलाडी उत्पादन” गर्ने लक्ष्यका साथ नगरपालिकाले गत वर्षदेखि राष्ट्रपति रनिङ शिल्डसँगै विद्यालयस्तरीय बृहत खेलकुद प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ।

यस वर्ष राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत ६ वटा विधाविद्यालयस्तरीय बृहत खेलकुद प्रतियोगितामा ७ वटा विधा समावेश गरिएका छन्।

राष्ट्रपति रनिङ शिल्डतर्फ भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, सितोरियो कराते र उसु समावेश छन्। विभिन्न खेलहरू NEC खेल मैदान, नागदली मैदान, फेदीका खेल मैदान र विभिन्न विद्यालय परिसर तथा खेल हलहरूमा सञ्चालन हुनेछन्।

विद्यालयस्तरीय बृहत खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेट, फुटसल, ब्याडमिन्टन, क्योकुसिन कराते, सितोरियो कराते, तेक्वान्दो र उसु समावेश गरिएको छ। प्रतियोगितामा कक्षा ८ देखि १२ सम्मका छात्र–छात्राले उमेर र तौल समूहअनुसार सहभागिता जनाउनेछन्।

खेलकुद प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन्। खेल विधाअनुसार सहभागी खेलाडी संख्या फरक–फरक रहनेछ भने प्रशिक्षक तथा निर्णायकहरूको व्यवस्थापन पनि गरिएको नगर खेलकुद विकास समितिले जनाएको छ।

गएको तीन वर्षयता श्रीकृष्ण माध्यमिक विद्यालयले राष्ट्रपति रनिङ शिल्ड लगातार उपाधि हात पार्दै आएको छ। नियमअनुसार एउटै विद्यालयले लगातार तीन पटक उपाधि जितेपछि मात्र शिल्ड प्रदान गरिने परम्परा रहेको हुँदा, यस वर्षका लागि नयाँ राष्ट्रपति रनिङ शिल्ड निर्माण गरिएको छ।

नगरपालिकाले खेलकुदमार्फत बालबालिका तथा युवाको शारीरिक, मानसिक र नैतिक विकासमा टेवा पुर्‍याउने विश्वास लिएको छ। प्रतियोगिताको औपचारिक समापन पुष ६ गते गरिने आयोजकले जनाएको छ।