खरीपाटी, भक्तपुर : चाँगुनारायण नगरपालिका र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त आयोजनामा “तेस्रो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन” शुक्रबार चाँगुनारायण नगरपालिकाको सभा हल, खरीपाटी, भक्तपुरमा आयोजना हुँदैछ।
७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १७ औँ राष्ट्रिय मानव अधिकार महोत्सवको अवसरमा आयोजना हुन लागेको यस वर्षको सम्मेलनलाई राष्ट्रिय जनवकालत मञ्च नेपाल, स्वच्छ हावा सञ्जालकाे चाँगुनारायणकाे सहकार्यमा हुन लागेको हो ।
काठमाडौं उपत्यका मेयर फोरम तथा ललितपुर महानगर पालीकाका मेयर चिरीबाबु महर्जनले कार्यक्रमको उद्घाटन गर्ने तय भएको छ ।
नगरपालिका खानेपानी, सरसफाइ तथा स्वच्छता वास शाखा प्रमुख सुरेन्द्र लामिछानेका अनुसार विभिन्न सेशन संचालन हुने कार्यक्रममा मानव अधिकारकर्मी, वातावरणविद्, युवा अभियानकर्ता, पत्रकार, विकास साझेदार संस्था तथा जनप्रतिनिधिहरूको उपस्थिति रहने छ ।
यो सम्मेलनले वातावरणीय सुरक्षा, मानव अधिकार, वायु प्रदूषण, जलवायु संकट, तथा स्थानीय तहको भूमिकामा गहिरो छलफल गर्नेछ। विगतका प्रतिबद्धता र नीति कार्यान्वयनमा आएको प्रगतिबारे समीक्षा गर्दै नयाँ कार्ययोजना पारित गर्ने तयारी समेत छ।


