खरीपाटी: चाँगुनारायण नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा भएको चाँगुनारायण कप कबड्डी प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। चाँगुनारायण–५ स्थित नागथली खेलमैदानमा शनिबार र आइतबार दुई दिन आयोजना गरिएको प्रतियोगितामा ७ टोलीका ७० खेलाडीले सहभागिता जनाएका थिए।

प्रतियोगीताको सेमिफाइनलमा ताथली, सुडाल, बागेश्वरी र छालिङबीच प्रतिस्पर्धा भएको थियो। उत्कृष्ट आधारमा ताथली र छालिङ फाइनलमा प्रवेश गरेका थिए । त्यस्तै, रोमाञ्चक फाइनल खेलमा ताथलीलाई पराजित गर्दै छालिङले उपाधि जित्न सफल भयो। तेस्रो स्थानमा वडा नंं ७ बागेश्वरी र वडा नं. ८ सुडाल बन्न सफल भए ।

विजेता टोलीले २५ हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गर्यो भने उपविजेता ताथलीले १५ हजार रुपैयाँसहित ट्रफी र मेडल हात पार्यो। विजेता तथा उपविजेता टोलीलाई नगर प्रमुख जीवन खत्री र वडा नं ५ का वडाध्यक्ष जयन्द्र खडकाले पुरस्कार वितरण गर्नुभयो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो। उत्कृष्ट खेलाडीको रुपमा वडा नं ५ का ज्ञानेन्द्र बुढाक्षेत्री, उत्कृष्ट डिफेन्डर विकास खड्का र उत्कृष्ट रेडरका रुपमा वडा नं ९ का गणेश राउत बन्न सफल हुनुभयो । सहभागी सबै खेलाडीलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा नगर प्रमुख खत्रीले नगरपालिका खेलकुद पूर्वाधार, सामग्री तथा प्रशिक्षण विस्तारमा निरन्तर लगानी गरिरहेको उल्लेख गर्नुभयो। उहाँले खेलकुद युवालाई अनुशासन, दिगोपन र सामुदायिक एकतामा जोड्ने प्रभावकारी माध्यम रहेको बताउनुभयो।

वडा नं ५ का वडाध्यक्ष जयन्द्र खडकाले स्थानीयस्तरमै यति व्यवस्थित प्रतियोगिता आयोजना हुनु खेल प्रतिभा पहिचान र प्रोत्साहनका लागि महत्वपूर्ण भएको बताउँदै आगामी दिनमा खेल विकासका कार्यक्रम थप सशक्त रूपमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो।

नगर खेलकुद विकास समितिका संयोजक रघु केसीको सभापतीत्वमा सम्पन्न कार्यक्रम प्रशिक्षक प्रदीप ढकालले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा वडा नंं ५ का वडा सदस्य सुरेश कार्की र नगर प्रमुखको स्वकीय सचिव गोकर्ण पुरीलगायत पनि सहभागि हुनुहुन्थ्यो ।

यसपटकको कबड्डी प्रतियोगिता व्यवस्थित व्यवस्थापन, उच्च प्रतिस्पर्धा र जनसमुदायको सहभागिताका कारण चाँगुनारायणमा खेलप्रतिको रुचि थप बढ्ने अपेक्षा गरिएको छ।








