चाँगुनारायण कप कबड्डी प्रतियोगिता सुरु, मेयर खत्रीद्धारा शुभारम्भ

खरीपाटी: भक्तपुरको चाँगुनारायण नगरपालिकामा नगर खेलकुद विकास समितिको आयोजनामा आयोजित चाँगुनारायण कप कबड्डी प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। चाँगुनारायण–५ स्थित नागथली खेलमैदानमा भएको प्रतियोगितामा ७ टोलीले लिग कम नकआउट प्रणालीमार्फत उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको उद्घाटन चाँगुनारायण नगर प्रमुख जीवन खत्रीले गर्नुभयो। उद्घाटन गर्दै उहाँले स्थानीय तहमा खेलकुद पूर्वाधार, खेल सामग्री र प्रशिक्षण विस्तारमार्फत नगरपालिकाले खेल क्षेत्रको विकासमा निरन्तर लगानी गरिरहेको बताउनुभयो।

उहाँले युवालाई अनुशासन, दिगोपन र सामुदायिक एकतामा जोड्न खेलकुद महत्वपूर्ण माध्यम भएको पनि उल्लेख गर्नुभयो।

नगर खेलकुद विकास समितिका संयोजक रघु केसीको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रशिक्षक तथा समिति सदस्य प्रदीप ढकालले कार्यक्रम सञ्चालन गर्नुभयो। संयोजक केसीका अनुसार स्थानीयस्तरमै प्रतिभा पहिचान र प्रोत्साहन गर्न विभिन्न खेलकुद गतिविधि नियमित रूपमा सञ्चालन हुँदै आएका छन्। केही साताअघि मात्र सम्पन्न नगरस्तरीय दौड प्रतियोगिता त्यसैको उदाहरण हो।

यसपटकको कबड्डी प्रतियोगितामा प्रथम हुने टोलीले २५ हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीलाई १५ हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ। त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट रेडर र उत्कृष्ट डिफेन्डरका लागि पनि छुट्टाछुट्टै नगद पुरस्कार राखिएको छ। सहभागी सबै खेलाडीलाई प्रमाणपत्र प्रदान गरिने समितिले जनाएको छ।

भोलि प्रतियोगिताको पहिलो सेमिफाइनलमा ताथली र सुडाल बीच, दोस्रो सेमिफाइनलमा बागेश्वरी र छालिङ बीच खेल हुनेछ। जसमा विजेता टोलीले उपाधि र नगद पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछ।

चाँगुनारायण क्षेत्रमा पहिलोपटक यति व्यवस्थित रूपमा आयोजना गरिएको कबड्डी प्रतियोगिताले स्थानीय खेलकुद वातावरणमा नयाँ ऊर्जा भरिने र खेलकुदप्रतिको रुचि अझ विस्तार हुने अपेक्षा गरिएको छ।