उपत्यकामा रगतको अभावका बीच चाँगुनारायण नगरपालिकाद्वारा आकस्मिक रक्तदान

भक्तपुर : उपत्यकामा पछिल्लो समय रगतको अभाव तीव्र बन्दै गएपछि चाँगुनारायण नगरपालिकाले बुधबार आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ। नगरपालिकाको कार्यालय खरीपाटी परिसरमा आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, नगरपालिकाका कर्मचारी, नगर प्रहरी तथा स्थानीय बासिन्दाहरूले रक्तदान गरेका छन्।

नगर प्रमुख जीवन खत्रीले समाजप्रति उत्तरदायी भावनासहित नगरपालिकाले यो अभियान सञ्चालन गरेको बताउनुभयो। उहाँका अनुसार हाल उपत्यकाका अस्पतालहरूमा रगतको चरम अभाव देखिएको छ, जसले गर्दा आकस्मिक बिरामीहरूलाई उपचारमा समस्या परेको छ।

“रगतको अभावले धेरै बिरामीहरूले उपचारमा कठिनाइ भोगिरहेका छन्। त्यसैले हामीले नगरपालिकाको तर्फबाट जिम्मेवारीपूर्वक यो आकस्मिक रक्तदान कार्यक्रम सञ्चालन गरेका हौं, प्रमुख खत्रीले भन्नुभयो, ”समाजका सबै क्षेत्रले यस्ता मानवीय कार्यमा हातेमालो गर्न जरुरी छ।”

रक्तदान कार्यक्रममा नगर प्रमुख खत्री स्वयंले पनि रक्तदान गर्नुभएको थियो। उहाँले रक्तदानलाई जीवनदानको रूपमा लिनुपर्ने भन्दै नगरबासीलाई नियमित रक्तदानमा सहभागी हुन आग्रह गर्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले उपत्यकामा केही सातादेखि रगतको आपूर्ति अत्यन्त न्यून भएपछि चाँगुनारायण नगरपालिकाले तत्कालीन पहल गरेको बताउनुभयो ।

वडा नंं २ का वडाध्यक्ष तथा नेपाल रेडक्रस सोसाईटी भक्तपुरका रक्तसंचार शाखा प्रमुख सोम प्रधानले रगत आपूर्तिको समस्या चर्किँदै गएको बेला नगरपालिकाको यो कदम प्रेरणादायी भएको बताउनुभयो।

स्वास्थ्य शाखा प्रमुख दिल कुमार दुवालका अनुसार रक्तदान कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, स्वास्थ्यकर्मी, नगर प्रहरी र स्थानीय स्वयंसेवकहरू समेतको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमले रगत सङ्कलनमार्फत आपतकालीन अवस्थाका बिरामीहरूलाई सहयोग पुर्‍याउने विश्वास लिइएको छ।