भक्तपुर : चाँगुनारायण नगरपालिकाको नगर खेलकुद विकास समितिले यही कार्तिक २७ गते बिहिबार दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा विद्यालय तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहभागिताका लागि आमन्त्रण गरिएको छ।
समितिका अनुसार प्रतियोगिता बिहान ७ बजे सुरु हुनेछ। चाँगुनारायण नगरपालिका वडा नं ५ र ७ को संगम स्थल यातु महादेव स्थानबाट शूरु हुनेछ । प्रतियोगिता दुई तहमा सञ्चालन हुनेछ ।
पुरुष र महिला दुवैका लागि सञ्चालन हुने प्रतियोगितामा कक्षा ७ देखि ८ कक्षाका विद्यार्थीहरुका लागि १ किलोमिटर, कक्षा ९ देखि १० कक्षा सम्मका विद्यार्थीहरूका लागि २ किलोमिटर दूरीमा संचालन हुनेछ । त्यस्तै, कक्षा ११ र १२ कक्षा तथा खुला २० वर्षसम्मका लागि ३ किलोमिटर दूरीमा प्रतिस्पर्धा गराइनेछ ।
विजेताहरुलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ। प्रथम हुनेलाई नगद ५ हजारसहित ट्रफी, द्वितीय हुनेलाई ३ हजार नगदसहित मेडल, तृतीय हुनेलाई २ हजारसहित मेडल, चौथो र पाँचौं हुनेले १ हजार रुपैयाँ सहित प्रमाणपत्र पुरुस्कार प्राप्त गर्नेछन्।
नाम दर्ता गर्न चाहनेहरूले यही कार्तिक २५ गतेसम्म नगरपालिकाको कार्यालय खरीपाटीमा सम्पर्क गर्न सक्ने नगर खेलकुद विकास समितिका संयोजक रघु केसीले जानकारी दिनुभयो । नगरपालिकाले खेलकुद माध्यमबाट युवामा स्वास्थ्य, अनुशासन र सामाजिक सद्भाव बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ।

